काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतमलाई विशेष अदालतले भ्रष्टाचार ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ।
बोर्डका तत्कालीन कार्यकारी निर्देशक गौतम र तत्कालीन शाखा प्रमुख रघुपति चौधरीलाई विशेष अदालतलले आइतबार जरिवानासहित कैद सजाय हुने फैसला सुनाएको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन २०१९ बमोजिम तीन महिनादेखि एक वर्षसम्म कैद तथा १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
गौतमले आफैं पदपूर्ति समितिको संयोजक भई पदको दुरूपयोग गरी योग्यता नपुगेको व्यक्तिलाई कर्मचारी नियुक्ति गरेको भन्दै गत जेठ २६ गते मुद्दा दायर गरिएको थियो।
अख्तियारले गौतमले कर्मचारी नियुक्तिमा आर्थिक लाभ लिई योग्यता नपुगेको व्यक्तिको फारम स्वीकृत गर्ने र योग्यता नपुगेका व्यक्तिहरूको तथ्यलाई लुकाइछिपाइ बदनीयतपूर्ण कार्य गरेको भन्दै गौतमविरूद्ध अभियोग पत्र दायर गरेको थियो।
सोही मुद्दामा गौतम र चौधरीलाई ३/३ महिना कैद र जनही १० हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो।
गौतम त्यतिबेला नै अख्तियारको कारबाहीबाट जोगिन सत्ता गठबन्धनको साथ लागेको चर्चा चलेको थियो।
प्रतिक्रिया दिनुहोस्