एकीकृत समाजवादी पार्टीकै कारण एमाले प्रतिनिधिसभाको निर्वाचनमा १९ क्षेत्रमा पराजित

काठमाडौँ । सत्तारूढ एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० सिट मात्र जिते पनि करिब दोब्बर क्षेत्रमा एमालेलाई हराउन प्रमुख भूमिका खेलेको छ । प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा राजनीतिक दलहरूले प्राप्त गरेको समानुपातिक मतलाई विश्लेषण गर्दा एकीकृत समाजवादीका कारण एमालेले १९ वटा क्षेत्र झिनो मतान्तरले हारेको देखिएको छ ।

एमालेले तालमेल गर्दै जसपालाई १७, राप्रपालाई तीन, कांग्रेसका बागीलाई एक (चितवन–३), नेपाली कांग्रेस बीपीलाई एक (डडेलधुरा) र जनता प्रगतिशील पार्टी नेपाललाई एक (नवलपरासी पश्चिम–१) क्षेत्र छाडेको थियो । रौतहट–३ मा अन्तिम समयमा प्रभु साहले पार्टी त्याग्दै चलाखीपूर्ण तरिकाले स्वतन्त्रबाट मनोनयन दर्ता गरेका कारण एमालेको उम्मेदवारी परेन । एमालेले १ सय ४१ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ४४ स्थानमा जित्यो । एमाले उम्मेदवार रहेका बाँकी ९७ क्षेत्रमध्ये कांग्रेसले ५२, माओवादी केन्द्रले १८, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले सात, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले तीन–तीन तथा नेमकिपा, जनमोर्चा, लोसपा र स्वतन्त्र उम्मेदवारले १–१ वटा जिते ।

एमालेका उम्मेदवार ८३ निर्वाचन क्षेत्रमा दोस्रो भएका छन् अर्थात् ती क्षेत्रमा विजेताको प्रमुख प्रतिस्पर्धा एमालेसँग थियो । एकीकृत समाजवादीले जितेका १० क्षेत्रलाई छाडेर बाँकी निर्वाचन क्षेत्र हेर्दा १९ वटामा एमालेका उम्मेदवार झिनो अन्तरले पराजित भएका छन् । त्यहाँ एकीकृत समाजवादीले समानुपातिकतर्फ पाएको मत बराबर प्रत्यक्षमा गठबन्धनका उम्मेदवारलाई नगएर एमालेका उम्मेदवारलाई गएको भए उनीहरू विजयी हुन्थे । एकीकृत समाजवादीको भोटका कारण एमालेले गुमाएका १९ क्षेत्रमध्ये कांग्रेसले सर्वाधिक १४ वटा जितेको छ । कांग्रेस तेह्रथुम, मोरङ–१, सुनसरी–४, उदयपुर–१, धनुषा–२, रौतहट–४, काठमाडौं–१०, भक्तपुर–२, मनाङ, नवलपरासी पूर्व–२, मुगु, दैलेख–२, कैलाली–४ र कैलाली–५ मा एकीकृत समाजवादीको साथले मात्रै विजयी भएको हो ।

एकीकृत समाजवादीको सहयोगबाट माओवादीले चार क्षेत्र जितेको छ । भोजपुर, खोटाङ, दोलखा र दाङ–२ यस्ता क्षेत्र हुन्, जसमा एकीकृत समाजवादीले समानुपातिकतर्फ पाएको घटाउने र एमालेका उम्मेदवारलाई थप्ने हो भने त्यहाँ माओवादी पराजित हुन्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले जितेको काठमाडौं–७ मा पनि एकीकृत समाजवादीको भोटका कारण एमालेका उम्मेदवार हारेको देखिन्छ ।

एमालेका आठ उम्मेदवार त एक हजारभन्दा कम मतान्तरले पराजित भएका छन् । एमाले महासचिव शंकर पोखरेल दाङ–२ मा गठबन्धनको समर्थन प्राप्त माओवादी उम्मेदवार रेखा शर्मासँग १ सय ९३ मतले पराजित भए । उक्त क्षेत्रमा एकीकृत समाजवादीले समानुपातिकतर्फ ७ सय ८२ मत प्राप्त गरेको छ । एकीकृत समाजवादीको त्यही मत एमालेका शक्तिशाली महासचिव पोखरेललाई हराउन पर्याप्त भयो । अध्यक्ष ओलीनिकट महेश बस्नेत भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापा क्षत्रीसँग ९ सय ५७ मतले पराजित भए । उक्त क्षेत्रमा एकीकृत समाजवादीले समानुपातिकमा एक हजार ६ सय ७९ मत पाएको छ । एकीकृत समाजवादीको भोट गठबन्धनका उम्मेदवार थापालाई गएका कारण एमालेका बस्नेत हारेको देखिन्छ ।

दैलेख–२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल कांग्रेसका दिक्पालकुमार शाहीसँग १ सय ६७ मतले हारे । उक्त क्षेत्रमा एकीकृत समाजवादीले समानुपातिकमा १ हजार ७५ मत पाएको छ । सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले एमालेका जगदीशप्रसाद कुसियैतलाई १ सय १२ मतले हराए, त्यहाँ एकीकृत समाजवादीको समानुपातिक मत ६ सय ६३ छ । धनुषा–२ मा एमालेका उमाशंकर अरगरिया कांग्रेसका रामकृष्ण यादवसँग १ सय ५७ मतले पराजित भए । त्यहाँ एकीकृत समाजवादीले समानुपातिकतर्फ ८ हजार ८२ मत ल्याएको छ । मोरङ–१ मा घनश्याम खतिवडा, दोलखमा बालकृष्ण शिवाकोटी, मनाङमा पोल्देन छोपाङ गुरुङलगायत एमाले उम्मेदवार पनि एक हजारभन्दा कम मतान्तरले पराजित भएका छन्, जहाँ विजेतासँगको मतान्तर संख्याभन्दा बढी मत एकीकृत समाजवादीले समानुपातिकमा ल्याएको छ ।

आमनिर्वाचनको प्रत्यक्षतर्फको नतिजा केलाउँदा अर्को रोचक आँकडा के देखिन्छ भने एमाले नफुटेको भए अहिले एकीकृत समाजवादीले जितेका १० मध्ये तीन क्षेत्र मात्रै एमाले (वा हालका एकीकृत समाजवादीका उम्मेदवार) ले जित्ने थियो । एकीकृत समाजवादीले रौतहट–१, बारा–४, धादिङ–१, दाङ–१, सल्यान, डोल्पा, दैलेख–१, अछाम–१, बझाङ र डोटीमा जितेको छ । एकीकृत समाजवादी र एमालेले समानुपातिकमा पाएको मतलाई एक ठाउँमा जोड्दा धादिङ–१, दैलेख–१ र बझाङमा मात्रै अन्य दलको भन्दा बढी हुन्छ । अर्थात् एकीकृत अवस्थामा निर्वाचनमा गएको भए एमालेले प्रत्यक्षतर्फ अहिलेभन्दा कम्तीमा १९ सिट बढी जित्थ्यो र एकीकृत समाजवादीले अहिले जितेकामध्ये कम्तीमा तीन सिट पनि सोही पार्टीका नाममा हुन्थ्यो । त्यो अवस्थामा एमाले प्रत्यक्षतर्फ कम्तीमा ६६ सिटसहित पहिलो हुन्थ्यो । कांग्रेस र माओवादी केन्द्रको सिट भने घट्थ्यो ।

एकीकृत समाजवादीले एमालेलाई पुर्‍याएको चोटकै परिणामस्वरूप प्रत्यक्षतर्फ ५७ सिट जितेर कांग्रेस पहिलो पार्टी बनेको छ । समानुपातिकतर्फ भने अहिले पनि एमाले नै सबैभन्दा ठूलो दल छ । तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेर खेर गएको एकीकृत समाजवादीको करिब तीन लाख भोटसमेत थपिँदा एमालेको समानुपातिक सिट अझ बढ्थ्यो । अहिले समानुपातिक र प्रत्यक्षमा गरी कांग्रेसको ८९ सिट र एमालेको ७८ सिट छ । पहिलो दल भएकै कारण कांग्रेसले सरकार गठनका लागि अग्रसरता लिइरहेको छ । गठबन्धनको सरकार बन्न नसक्ने अवस्था आए प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका रूपमा अल्पमतको सरकार गठन गर्ने अवसर पनि कांग्रेसलाई नै मिल्नेछ ।

२७,मंसिर.२०७९,मंगलवार १२:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्