मन्दिरमा चोरी, एक महिनासम्म प्रहरी बेखवर ?

काठमाडौँ । प्रसिद्ध धर्मिक स्थल आदिलिङ्ग कुशेश्वर महादेव मन्दिरमा दानपेटी चोरी भएको एक महिना वित्दासमेत प्रहरीले अनुसन्धानमा खासै चासो देखाएको छैन ।
सो मन्दिरमा पटकपटक दानपेटिका चोरीका घटना हँदैआएको भए पनि दोषीको पहिचानमा खासै चासो स्थानीय प्रशासनले नदिएको गुनासो स्थानीयको छ । सो मन्दिरबाट पटकपटक गरी लक्ष्मी, सरस्वतीको मूर्ति, गौरीशंङ्ख, एकमुखे रुद्राक्ष, शालीग्रामजस्ता बहुमूल्य वस्तुसमेत हराइसकेको जनाइएको छ ।
मन्दिरमा पटकपटक चोरी भएपछि सुनकोशी गाउँपालिकाले मन्दिर परिषरमा सुरक्षाका लागि सीसीटिभी क्यामेराको समेत व्यवस्था गरेको थियो । दानपेटी चोरी घटनाको सीसीटिभी फुटेजसमेत सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती हुँदासमेत सुरक्षा निकायले चोरी पत्ता नलगाउनु अर्को आश्चर्यको विषय भएको भन्दै पानीपोखरी युवा क्लवले प्रश्न उठाएको छ । एक महिनासम्म चोरीमा संलग्नहरु पहिचान गर्न नसकेको भन्दै युवा क्लवले विज्ञप्ति जारी गरी चिन्ता प्रकट गरेको छ ।
भक्तजनले मन्दिरमा चढाएको करिव छ महिनाको दान हराउँदासमेत कुशेश्वर महादेवस्थान संरक्षण समितिले खोजीका लागि खासै चासो नदिएको बताइन्छ । सुनकोशी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रामकुमार श्रेष्ठले मन्दिरको दानपेटी चोरी भएको घटनासँग सम्बन्धित सीसीटिभी फुटेजसहित इलाका प्रहरी कार्यालय खुर्कोटमा उजुरी दर्ता गरेको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय खुर्कोटले सो घटनाको छानविन हुँदै गरेको जानकारी दिएको छ ।

सुनकोशी गाउँपालिका–१ स्थित पौराणिक, ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको दानपेटिका मिति २०७९ कात्तिक २१ गते सोमबार राती चोरी भएको जनाइएको छ । पानीपोखरी युवा क्लवका अध्यक्ष रोशन तोलंगेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सो घटनाको सिसिटिभी फुटेज समेत सार्वजनिक भएको छ । सो सिसिटिभी फुटेजमा निलो हुड्डी लगाएको युवकले दानपेटिका निकाली लिएर हिँडेको प्रष्ट देखिन्छ । यस्तो स्पष्ट प्रमाण हुँदाहुँदै पनि चोरी घटनाको छानबिनमा ढिलासुस्ति हुनु थप आश्चर्यको विषय बनेको छ ।”
विज्ञप्तिमा भनिएको छ, “घटनाको छानबिन नगर्दा अपराधिक मनोवृत्ति बढ्दै जाने र पछि पनि यस्तै घटना दोहोरिरहन सक्ने र यस्ता घटना मन्दिर हुँदै घरघरमा पुग्न सक्ने कुरामा सुरक्षा निकायलाई पनि सचेत हुन आग्रह गर्दछौंैं ।”

चोरी घटना तथा मन्दिरको सम्पत्ति र सम्पदा संरक्षणका लागि दबाब सिर्जना र सहयोगमा जुट्न समेत युवा क्लबले स्थानीय समुदायसँग आग्रह गरेको छ ।

२७,मंसिर.२०७९,मंगलवार १२:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्