पार्किङको विषयमा काठमाडौंको अनामनगरमा तनाव सिर्जना

काठमाडौं । काठमाडौंको अनामनगरमा पार्किङको विषयमा तनाव सिर्जना भएको छ ।निजी जग्गामा पार्किङ गरी राखिएका सवारी साधन काठमाडौं महानगरपालिकाले जबरजस्ती उठाएको भन्दै स्थानीय व्यवसायीहरुले विरोध गर्नेक्रममा अनामनगर क्षेत्रमा तनाव सिर्जना भएको हो ।

महानगरले भने सडक पेटीमा अनधिकृत रुपमा राखिएका मोटरसाइकल उठाउने क्रममा स्थानीय व्यवसायीले अवरोध गर्न खोज्दा केहीबेर तनाव सिर्जना भएको बताएको छ ।

अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट अगाडिको सडक पेटीमा, आफ्नै पसलको सटरछेउमा राखिएका मोटरसाइकल जबरजस्ती उठाएको भन्दै विरोध भएको हो । स्थानीय व्यवसायीले निजी क्षेत्रमा पार्किङ गरिरहेको सवारी साधन महानगरले जबरजस्ती उठाएको आरोप लगाएका छन् ।सडक पेटीमा ट्राफिक प्रहरीले एकलाइन पार्किङ गर्न दिए पनि महानगर प्रहरीले बल प्रयोग गरेर सवारी उठाएको उनीहरुको गुनासो छ ।

‘एक हप्ता अगाडिसम्म महानगर प्रहरीले एकलाइन पार्किङ गर्न मिल्ने भन्दै, पार्किङ गर्न दिइरहेको थियो । ट्राफिक प्रहरी दैनिक जो हिंड्छन्, केही भनेको छैन तर एक्कासी महानगर प्रहरी आएर ज्यादति गर्न मिल्दैन नि’ नगरप्रहरीसँग विवाद गरिरहेका एक व्यवसायीले भने । सो क्षेत्रका व्यवसायीले एकलाइन पार्किङ सडक र सडक पेटी दुवै क्षेत्रलाई असर नगरेको भन्दै महानगरले अनावश्यक रुपमा ज्यादती गरिरहेको बताएका छन् ।

पैदल हिंड्ने फुटपाथमा पार्किङ गरेर राखिएको ९ वटा मोटरसाइकल उठाएको काठमाडौं महानगर प्रहरीले जनाएको छ ।

अनामनगर क्षेत्रमा खटिएका नगर प्रहरी उपरीक्षक विष्णु शर्माले भने, ‘पार्किङ अनुमति नभएका, सडक र सडक पेटीमा राखिएको मोटरसाइकल उठाएर बग्गीखानामा लैजान खोज्दा केहिबेर तनाव भएको हो । उहाँहरुले निजी क्षेत्र भनेर पसल अगाडिको फुटपाथलाई भन्दै हुनुहुन्थ्यो, त्यसमै विवाद भएको हो । अहिले विवाद सुल्झिसक्यो, उहाँहरुले अब ट्राफिकबाट जरीवाना तिरेर सवारी साधन लैजानुहुन्छ ।’

शर्माका अनुसार महानगर प्रहरीलाई स्थानीयले जान नदिएपछि नगर प्रहरी राजु पाण्डे सहितको थप प्रहरी बल अनामनगर क्षेत्रमा पुगेको थियो ।

३,पुष.२०७९,आईतवार १६:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्