कैलालीको अत्तरियामा आइतबार साँझ सुनचाँदी व्यवसायी विकास गौतम (सुनार) माथि गोली प्रहार

धनगढी । कैलालीको अत्तरियामा आइतबार साँझ सुनचाँदी व्यवसायी विकास गौतम (सुनार) माथि गोली प्रहार गर्ने समूहले ३५ तोला सुन र २ लाख रुपैयाँ लुटपाट गरेको छ ।

अत्तरिया बजारबाट पसल बन्द गरेर गोदावरी नगरपालिका–१ वनखेत घरतर्फ मोटरसाइकलमा फर्किरहेका बेला गौतममाथि मोटरसाइकलमा आएका दुई जना बन्दुकधारीले गौतममाथि गोली प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घाइतेको भनाइ अनुसार उक्त परिणामको सुनका गरगहना र नगदसहितको झोला लुटपाट भएको हो ।

तर गौतममाथि गोली प्रहार गरेर लुटपाटमा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन । ‘घटना भए लगतैदेखि हामीले संलग्नको खोजी गर्ने कामलाई तीव्र बनाएका छौँ तर अहिलेसम्म ती व्यक्तिको थिए, भन्ने बारे जानकारी पाइएको छैन’, डीएसपी जोशीले भने, ‘प्रदेश प्रहरी कार्यालय र जिल्लाबाट टोली खटाइएको छ । घटनामा जानकारी दिर्नैपर्ने खालको प्रगति भएको छैन ।’

प्रहरीले व्यवसायी सुनारले सञ्चालन गर्दै आएको सुन पसलदेखि घटनास्थल सम्मको सीसीटीभी फुटेज संकलन गरेर विश्लेषण गरिरहेको छ तर गोली प्रहार भएको सशस्त्र प्रहरी क्याम्प अगाडि सीसीटीभी क्यामेरा नभएका कारण अनुसन्धानमा समस्या भएको बताएको छ ।

गोली प्रहारबाट घाइते भएका गौतमको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त छ ।

घाइते गौतमका बुवा लालबहादुरका अनुसार घोडाघोडी नगरपालिका–१ स्थायी घर भएका उनीहरुले सुखड बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका थिए । अत्तरिया बजारमा वैशाखदेखि मात्र पसल सञ्चालनमा ल्याइएको हो ।

गोदावरी नगरपालिका–१ को वनखेतमा बस्दै आएका विकासले घरमा पनि सुनचाँदीको काम गर्ने गरेका कारण पसलबाट सुनका गरगहना घरतर्फ लगिरहेको लालबहादुर बताउँछन् । व्यक्तिगत कारण वा लेनदेनको विषयमा कुनै व्यक्तिसँग पनि पूर्व रिसइबी वा वादविवाद नरहेको बताउने गौतम दोषीको पहिचान गरेर शीघ्र कारवाहीको दायरामा ल्याउनुपर्ने बताउँछन् ।

४,पुष.२०७९,सोमबार १७:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्