रुपन्देही । कपिलवस्तुका गैरपत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सदस्यता हटाउन पत्रकार सम्बद्ध संस्थाहरूले माग गरेका छन् ।
महासंघमै रहेका व्यक्तिले आफन्त तथा नाता पर्नेहरुलाई महासंघको सदस्यता दिलाएको भन्दै ती संगठनहरुले कपिलवस्तु शाखामा रहेका गैरपत्रकारलाई महासंघबाट हटाउन माग गरेका हुन् ।
कपिलवस्तुका कावा अध्यक्ष बाबुराम रायमाझी, प्रगतिशील पत्रकार संघ कपिलवस्तुका कावा अध्यक्ष मोहन बेल्बासे र समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्य दीपक अनुरागीले संयुक्त प्रेस विज्ञप्तिमार्फत गैरपत्रकारहरुको सदस्यता खारेज गर्न माग गरेका छन् ।
जिल्लामा अधिकांश गैरपत्रकारलाई केन्द्रका मिडियाबाट सदस्यता वितरण गर्नु र ती गैरपत्रकार जिल्ला शाखामा स्थानान्तरण गराइनु खेदजनक र निन्दनीय कार्य भएको भन्दै उनीहरूले विरोध जनाएका छन् ।
‘नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको २०७८ भाद्र २६ गते र २०७९ मंसिर २३ गतेको पत्रअनुसार जनसञ्चार प्रतिष्ठान, माउण्टेन टीभी प्रतिष्ठान र स्वतन्त्र समाचार सेवाबाट स्थानान्तरण गरिएका ती सदस्यहरू कुन मापदण्डको आधारमा समावेश गरी शाखामा अभिलेख राख्न पठाइएको हो ? यसको जवाफ केन्द्रीय समिति, प्रदेश समितिले तत्काल कपिलवस्तु शाखामा आधिकारिक जानकारी गराउन माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
केन्द्रबाट स्थानान्तरण भई आएका सदस्यलाई जिल्ला शाखाले अनुमोदन नगरेपछि यहाँ विवाद बढेको छ । यसअघि कपिलवस्तु जिल्ला शाखाले पनि विज्ञप्ति निकालेर बाहिर सदस्यता लिएका गैरपत्रकारलाई स्थानान्तरणको नाममा जिल्लामा ल्याउन नसकिने जनाइसकेको छ । सचिव जानु पाण्डेले सबै क्रियाशील पत्रकारलाई यो अभियानमा साथ दिन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्