प्रधानमन्त्रीको पहिलो कार्यकाल टुंगो लगाउने गठबन्धनको बैठक बालुवाटारमा सुरू

काठमाडौ । काठमाडौ प्रधानमन्त्रीको पहिलो कार्यकाल टुंगो लगाउनका लागि बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू भएको छ।

सरकारको नेतृत्व पहिले कांग्रेसले गर्ने वा माओवादी केन्द्रले भन्ने निर्णयका लागि पाँच दलीय गठबन्धनका शीर्ष नेतृत्व छलफलमा जुटेका हुन्। बैठक केहीबेर अघि सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारी सरकार निर्माणका लागि दिएको सात दिनको समय आज पाँच बजे समाप्त हुँदैछ। त्यसअघि कार्यकालबारेको विवाद छिनोफानो गर्दै दाबी पेश गर्ने तयारी सत्ता गठबन्धनको छ।‘राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ। त्यो समयावधी अघिनै कार्यकालबारेको विवाद टुंगो लगाउने तयारीमा छौँ,’कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने।

यसअघि शनिबार साँझको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पहिलो कार्यालमा आफ्नो अडान कायमै राखेका थिए।

उनले कांग्रेसले राष्ट्रपति लिएर आफुलाई प्रधानमन्त्री दिनुपर्ने प्रस्ताव बैठकमा राखेका थिए।‘अध्यक्षज्युले गठबन्धनकोतर्फबाट डेढ वर्ष कांग्रेसले नेतृत्व गरिसकेकाले अब माओवादीलाई नेतृत्व गर्न दिनुपर्ने अडान कायमै राख्नुभयो,’ माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने।

प्रचण्डले अडान कायमै राखेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीलाई प्रधानमन्त्री दिन पार्टी तयार नभएको जवाफ दिएका थिए।‘तपाइँलाई प्रधानमन्त्री दिन साथीहरू तयार भएनन्। पार्टीभित्र पनि छलफल गर्नुपर्‍यो नि। अहिलेनै माओवादीलाई दिनुहुन्न भन्ने कुरा छ,’देउवाले प्रचण्डलाई भनेका थिए।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो कार्यकालमा आफ्नो दाबी कुनैपनि हालतमा नछोड्ने पक्षमा छन्। कांग्रेस तयार नभए एमालेसँग छलफल गर्ने उनको तयारी छ। यो सन्देश उनले शनिबार साँझको बैठकमा पनि दिएका छन्।

शनिबारको बैठकमा सरकारको नेतृत्व २ वर्ष कांग्रेस, २ वर्ष माओवादी केन्द्र र १ वर्ष एकीकृत समाजवादीले गर्ने अनौपचारिक सहमति पनि भएको छ। ‘सरकारको नेतृत्व आलोपालो गर्नेमा कुनै विवाद छैन। तर पहिले कसले नेतृत्व गर्ने भन्नेमा हामी जहाँको त्यहीँ छौँ,’ कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भनेका छन्।

सत्ता गठबन्धन प्रधानमन्त्रीको कार्यकालको विवादले नभत्किने कांग्रेस नेताहरूले दाबी गरेका छन्। सभापति देउवा गठबन्धन जोगाउने पक्षमै रहेको नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।‘पहिलो कार्यकालको विवादले गठबन्धन भत्किँदैन। पहिलो कार्यकाल हाम्रा लागि गौण हो,’ कार्कीले भनेका छन्।

१०,पुष.२०७९,आईतवार ११:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्