काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघ काठमाडौंमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २३औं साधारण सभा तथा अधिवेशनबाट दिनेश अग्रवालको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि १७ जना सर्वसम्मत चयन भएका हुन् ।
संघको वरिष्ठ उपाध्यक्षमा मनिष अग्रवाल, प्रथम उपाध्यक्षमा अरुणकुमार चौधरी, द्वितीय उपाध्यक्षमा अर्जुन घिमिरे र महासचिवमा सञ्जय लामा निर्विरोध भएका हुन् । त्यसै गरी कोषाध्यक्षमा रमिता कसजु श्रेष्ठ, सचिवमा केदारनाथ बस्ताकोटी र डमरु बल्लभ पराजुली चयन भएका छन् । संघको सदस्यमा दिलविक्रम श्रेष्ठ, भोलामान योञ्जन, ऋषि किशोर अग्रवाल, सम्यकमान सिंह, मुकेश अग्रवाल, गीता अच्छामी, रन्जु श्रेष्ठ, निकुञ्ज अग्रवाल र टेकबहादुर कार्की चयन भएका छन् ।
निवर्तमान अध्यक्ष शुभेन्द्र जोशी रहेको कार्यसमितिले थप ३ जना सदस्यहरु मनोनयन गरी २१ सदस्यीय कार्यसमितिलाई पूर्णता दिइने संघले जनाएको छ ।
संघको साधारण सभालाई सम्बोधन गर्दै काठमाण्डौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले घर बहालका सन्दर्भमा व्यापक गुनासोहरु आएकाले घरबेटी र बहालमा बस्नेलाई सहज हुने किसिमको कानुनी प्रावधान गर्न लागिएको जानकारी दिएकी थिइन् ।
कार्यक्रमका वक्ताहरुले उपमेयर डंगोललाई उपत्यकामा मालवस्तु ढुवानीमा गरिएको कडाइले फर्निचरका उत्पादन ओसारपोसारमा समस्या भएकोतर्फ ध्यानाकर्षण गराएका थिए ।
संघका निवर्तमान अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर व्यवसायीलाई काठ कटानीको टेण्डरमा सहभागी हुनबाट बञ्चित गराइएकोतर्फ ध्यानाकर्षण गराए ।
संघका नवनिर्वाचित अध्यक्ष दिनेश अग्रवालले उच्च बिन्दुमा पुगेको बैंक ब्याजदरका कारण फर्निचर व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेको बताए ।
वैज्ञानिकीकरण बजारीकरण, आधुनिकीकरण हुन नसक्दा वन पैदावरको सरल उपयोग हुन नसकेको साधारण सभाका वक्ताहरुले राखेका थिए ।
देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन् । यो व्यवसायले २ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको संघको भनाइ छ । फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ भने वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ । जसमा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको अनौपचारिक तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्