बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई निलम्बनका लागि गरे सिफारिस

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई निलम्बनका लागि सिफारिस गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको इकान्तिपुरलाई जानकारी दिए ।

शक्तिको आडमा गलत धन्दामा सक्रिय हुँदै आएका डीएसपी केसीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आइतबार राति निवासबाटै नियन्त्रणमा लिएको थियो । उनको निवासबाट टोलीले ३५ तोला सुन र १८ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ ।

जिल्ला प्रहरी कास्कीमा सरुवा भएका उनी सोमबार बुटवलबाट रमाना लिएर कास्की जाने तयारीमा थिए । बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको र सुन फिर्ता गर्न उनले व्यापारीसँग नगद रकम लिएको भन्ने सुराकीकाआधारमा सीआईबीले छानबिन गरेको थियो ।

पटक-पटक विवादमा मुछिएका डीएसपी केसीले साउन १ गते तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिको विवादमा नगरपालिका परिसरमा वडाध्यक्षलाई लात्ताले हानेर पौडी पोखरीमा फालिदिएका थिए । स्थानीय तहका जनप्रतिनिधले कारबाहीको माग गर्दा पनि उनी शक्तिकै आडमा जोगिएका थिए ।

१२,पुष.२०७९,मंगलवार १३:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्