मधेश प्रदेशमा कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने

जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ ।

तीनजना दलको नेताको दाबी नछाडेपछि निर्वाचन हुन लागेको हो । दलको नेताको लागि प्रदेश सभापतिसमेत रहेका नवनिर्वाचित प्रदेश सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव र जनार्दन क्षेत्री दाबेदार छन् ।

दलको नेता चयन गर्न कांग्रेसले गत पुस ७ गते प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादव ज्युको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरेको थियो ।

निर्वाचन समितिले सर्वसहमतिको प्रयासबाट दलको नेता चयन नभएपछि निर्वाचन प्रकृया अघि बढाएको कांग्रेस प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको निर्वाचन समितिको बैठकले आज बुधबार प्रथम मतदाता नामावली प्रकाशन गर्ने, बिहीबार अपरान्ह ३ वजेदेखि ४ वजे सम्म नेपाली कांग्रेस मधेश प्रदेश कार्यालय जनकपुरधाममा मतदाता नमावली प्रकाशन गर्ने तालिका तय गरेको छ ।

निर्वाचन तालिका आज प्रकाशन गर्ने निर्वाचन समितिका सदस्य समेत रहेका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले जानकारी दिए ।

कांग्रेस २२ सिटसहित मधेश प्रदेश सभाको दोस्रो ठूलो दल रहेको छ ।

१३,पुष.२०७९,बुधबार ०९:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्