पोखरा । गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गापनियताको सपथ लिएका छन् ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पर्वतको प्रदेश सभा २ बाट निर्वाचित ६५ वर्षीय बस्याललाई बुधबार सपथ खुवाएका हुन् ।
एमालेबाट निर्वाचित सांसद बस्याल कानुनमन्त्री विन्दुकुमार थापाभन्दा २ दिन जेठो हुँदै ज्येष्ठ सदस्यका हैसियतले अब प्रदेश अधिवेशनको अध्यक्षता गर्ने भएका छन् ।
गण्डकीका बाँकी ५९ जना प्रदेश सभा सदस्यलाई बिहीबार बस्यालले सपथ खुवाउने कार्यक्रम छ ।
प्रदेश प्रमुख पृथ्वीमानले १८ गते प्रदेश अधिवेशनको आह्वान गरेका छन् ।
प्रथम अधिवेशनको ज्येष्ठ सदस्यका हैसियताले बस्यालले अध्यक्षता गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।
प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यसअघि एमाले माओवादीको संयुक्त सरकार बन्दा संसदमा सभामुख माओवादीका तर्फबाट नेत्रनाथ अधिकारी र एमालेका तर्फबाट उपसभामुख सिर्जना शर्मा बनेकी थिइन् ।
गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी ८ राप्रपाका २ र स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी छिरेका राजीव गुरुङ (दीपक मनाङे)सहित ६० सांसद छन् ।
प्रदेश अधिवेशनलगत्तै सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्ने तयारी छ । गण्डकीमा एमाले, माओवादी र राप्रपाको गठबन्धनबाट सरकार बन्ने देखिएको छ ।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै गण्डकीमा पनि एमाले, माओवादी, राप्रपाको ३२ जना सांसद सत्ता पक्षमा रहने छन् । एमालेबाट खगराज अधिकारी संसदीय दलको नेता चुनिइसकेका छन् । नेपाली कांग्रेसको बुधबार निर्वाचन हुँदैछ । माओवादीले पनि तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्