काठमाडौं । पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्सले जारी नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा विराटनगर सुपर किङ्सलाई १३६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रनको योगफल तयार गरेको छ ।
पोखराका लागि मध्य क्रमका ब्याटर अमिर हम्जाले अविजित ३७ रनको इनिङ खेले । उनले २५ बलमा १ चौका र तीन छक्का प्रहार गरे ।
ओपनर सुमित महर्जनले आउट हुनु अघि २५ बलमा २ चौका र १ छक्कासहित २६ रनको योगदान गरे । असिफ शेख ११ रन र कप्तान उपुल थरंगा २५ रनमा पभेलियन फर्कँदा प्रतिस जिसी १३ रनमा अविजित रहे ।
विराटनगरको वलिङमा कप्तान आन्द्रे मकार्थीले सबैभन्दा धेरै तीन विकेट लिए । उनले ४ ओभरमा २२ रन खर्चिए । नन्दन यादव, राज ननन् र साहब आलमले समान एक विकेट लिए ।
पहिलो खेलमा काठमाडौं नाइट्ससँग २६ रनले पराजित भएको पोखरा दोस्रो खेलमा जनकपुर रोयल्ससँग ५ विकेटले हारेको थियो । तेस्रो खेलमा लुम्बिनी अलस्टार्ससँग तीन विकेटले पराजित पोखरा चौथो खेलमा विराटनगरसँगै ६ विकेटको पराजय बेहोरेको थियो ।
यस्तै, पहिलो खेलमा लुम्बिनीसँग २ रनले हारेको विराटनगर दोस्रो खेलमा जनकपुरसँग ५ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा विराटनगरले पोखरालाई हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो ।
आज हुने दोस्रो खेलमा जनकपुर रोयल्स र फारवेस्र्टन युनइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्