आजदेखि रात्रिकालीन बजार सञ्चालनको लागि बुटवल उपमहानगरपालिकाले दियो अनुमति

रुपन्देही । आजदेखि बुटवलमा रात्रिकालीन बजार सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ मा पर्ने कालिकापथ सडक बसपार्कदेखि होराइजन चोकसम्म रात्रिकालीन बजार सञ्चालनको लागि बुटवल उपमहानगरपालिकाले अनुमति दिएको हो । तत्काललाई राती ११ बजेसम्म बजार सञ्चालन गरिने छ ।

ग्राहकलाई निःशुल्क शौचालयको व्यवस्थापन व्यवसायीले गर्नुपर्ने र पार्किङको लागि बुटवल बसपार्कमा व्यवस्थापन गर्ने नगर प्रमुख खेलराज पाण्डेले बताए ।

‘अहिले बुटवल बसपार्कमा नम्बरको गाडी मात्रै आउने व्यवस्था भएकाले त्यति भिडभाड हुँदैन, रातीको समयमा भएकाले त्यहाँ पार्किङ गर्न सकिन्छ,’ उनले भने, ‘अहिले सुरु गरिहालौँ, सुधार गर्नुपर्ने कुराहरू बिस्तारै सुधार गर्दै जाउँला ।’

लाइटिङ र सिसिटिभिको पनि तत्काललाई व्यवसायीले व्यवस्था गर्नुपर्ने बताउँदै उनले अर्को वर्षसम्म नगरपालिकाले व्यवस्थित र राम्रो लाइटिङको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रात्रिकालीन बजार सञ्चालनको लागि बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीलगायतका व्यवसायीले माग गरेका थिए ।

व्यवसायीको मागमा नगरप्रमुख पाण्डेयले सहमति जनाएपछि सोमबारदेखि रात्रिकालीन बजार सञ्चालनको सहमति जुटेको हो ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले कोरोना कहरपछि थला परेका व्यवसायीलाई यसले सहज बनाउने बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले व्यावसायिक जिम्मेवारी बहन गरेर सञ्चालन गर्न व्यवसायी पनि तयार हुनुपर्ने बताए ।

पर्यटन विकास परिषद् लुम्बिनीका निर्देशक रामु जोशीले नेपालमा ६१ प्रतिशत पर्यटक रमाइलोका लागि आउने बताउँदै रात्रिकालीन व्यवसाय सञ्चालन हुँदा उनीहरूलाई भुल्ने ठाउँ हुने बताए ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वल कसजूले खस्किँदो बुटवलको बजारलाई कसरी चलायमान बनाउन सकिन्छ ?, व्यापार व्यवसायको कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने उद्देश्यले संघले लामो समयदेखि रातीको समयमा बजार सञ्चालन गर्ने विषयमा पहल पैरवी गर्दै आएको बताए ।

रात्रिकालीन बजार सम्बन्धी समितिका संयोजक प्रतीक पोखरेलले पहिलो फेजमा होटल व्यवसाय सम्बन्धी कुराहरू राख्न सकिने र दोस्रो फेजमा गैर खाद्य वस्तुहरू पनि राखेर बजार चलाउनुपर्ने बताए।

उनले रात्रिकालीन बजार सञ्चालनको लागि सबैभन्दा पहिले व्यवसायी तयार हुनुपर्ने, त्यसपछि स्थानीय सरकारले वातावरण तयार गर्नुपर्ने र प्रहरी प्रशासनले शान्ति सुरक्षा व्यवस्थालाई सहज बनाइदिनुपर्ने गरी योजना बनाउनुपर्ने सुझाव दिए ।

१८,पुष.२०७९,सोमबार १०:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्