अपाङ्गता भएकी मध्यपुर थिमिकी सुप्रिनाले घरमै पाइन् नागरिकता

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका- ४ की सुप्रिना श्रेष्ठले घरमै नागरिकता प्रमाणपत्र पाएकी छन् । अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने सुप्रिनालाई भक्तपुरकी प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्माले आइतबार उनको घरमै पुगेर नागरिकता प्रमाणपत्र दिएकी हुन् ।

नागरिकता दिन प्रजिअ शर्मा नागरिकता फाँटको टोलीसहित सुप्रिनाको घर पुगेकी थिइन् । प्रजिअ शर्मासँगै सहायक प्रजिअ माधवप्रसाद शर्मा र प्रमुख प्रशासकीय अधिकृत उर्मिला खतिवडा तथा नागरिकता फाँटका कर्मचारी सुप्रिनाको घर पुगेका थिए । शारीरिक अपांगता भएका सुप्रिना सहयोगीविना उठबससमेत गर्न सक्दैनन् ।

शारीरिक अपाङ्गता भएकाहरुलाई प्रशासनसम्म आएर नागरिकतालगायतका सेवा लिन कठिनाइ हुने भएकाले घरमै पुगे नागरिकता प्रदान गरेको प्रजिअ शर्माले बताइन् । उनले कार्यालय तथ आफूलाई जानकारी भएसम्म अपांगता भएका नागरिकहरुलाई प्रवाह गर्नुपर्ने सेवा सुविधा घरमै पुगेर उपलब्ध गराइने बताइन् ।

घरमै आएर आफ्नी छोरीलाई नागरिकता दिएकोमा सुप्रिनाकी आमा सुशीलाले प्रमुख जिल्ला अधिकारी शर्मा र उनको टोलीलाई धन्यवाद ज्ञापन गरे । उनले अन्य निकायले समेत अपाङ्गता भएकाहरुको समस्या बुझिदिएर घरदैलो सेवा दिनुपर्ने औंल्याइन् ।

प्रशासनको नागरिकता टोलीसँगै सुप्रिनाको घर पुगेका मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले नागरिकताको लागि सिफारिस लिन आउँदा अपांगता भएका व्यक्तिलाई प्रशासन कार्यालयसम्म जानु नपर्ने गरी वडामार्फत आवश्यक समन्वय गर्ने व्यवस्था मिलाइने बताए ।

उनले आगामी दिन नगरपालिकाले अपांगता भएकालाई घरदैलोमै सेवा सुरु गर्ने सुनाए ।

प्रजिअ शर्माले भक्तपुर जिल्ला प्रशासनले अपाङ्गता भएका नागरिकहरुलाई प्राथमिकतामा राखेर विशेष सुविधा दिँदै आएको बताइन् । उनका अनुसार कार्यालयले यसअघि सूर्यविनायक नगरपालिकाका २ जना अपाङ्गता भएका नागरिकलाई समेत घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरेको थियो ।

१८,पुष.२०७९,सोमबार १३:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्