गाउँपालिकाका पूर्वअध्यक्ष महेश राईविरुद्ध बहुविवाहको जाहेरी ‘ढिसमिस’ पारेको भन्दै पीडितले गुहारिन् अदालत

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष महेश राईविरुद्ध बहुविवाहको जाहेरी ‘ढिसमिस’ पारिएको भन्दै पीडितले पाटन उच्च अदालतमा मुद्दा हालेकी छन् ।

सुरूमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि प्रहरी र सरकारी वकिलविरुद्ध दायर गरेको रिटउपर अदालतले परमादेश दिएको र त्यसको आधारमा जाहेरी दर्ता गरिएपनि राजनीतिक दबाबमा पीडकलाई संरक्षण गरिएको उनीहरूको भनाइ छ ।

भोजपुर खार्तम्छा घर भई हाल काठमाडौं ललितपुर बस्ने हिमालय राईले दायर गरेको रिटमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटन, महान्यायाधिवक्ताको कार्यालय, बौद्ध प्रहरी साथै महेश राई र माया राईको जोडीलाई विपक्षी बनाइएको छ । माया नेपाली कांग्रेसबाट समानुपातिकतर्फकी सांसद हुन् ।

यसअघि पीडीतले रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर दुईजनालाई जोगाउन आरजु देउवा, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायत लागेको आरोप लगाएका थिए ।

महेशले हिमालयसँग गत २०७८ मंसिर १३ गते किरात संस्कारअनुसार विवाह गरेका थिए । त्यसपछि महेशको बूढानीलकण्ठ-१० कपनस्थित घरमा बस्दै आएकोमा भोजपुरको हतुवागढी-४ की ४५ वर्षीया माया राईले फागुन १६ मा आफू महेशको श्रीमती भएको दाबी गर्दै गेटमा साँचो लगाएर घर प्रवेश गर्नबाट रोक लगाइएको हिमालयको भनाइ छ ।

महेशले गाउँपालिकाको अध्यक्ष हुँदा आफू मातहतको वडा नं. २ का अध्यक्षसमेतलाई दबाब र प्रभावमा पारेर माया राईसँग गरेको विवाहलाई अगाडिको मिति राखी विवाह दर्ताको निवेदन पेश गरेको कार्य शंकास्पद रहेको साथै महेश-माया राईले उक्त निवेदनमा उल्लेख गरेको व्यहोरा र अनुसन्धानको क्रममा कागज गर्दा उल्लेख गरेको व्यहोरा नै फरक फरक रहेको रिटमा उल्लेख छ ।

‘उक्त शंकास्पद तथ्यको बारेमा कुनै प्रमाण नै नबुझी, अनुसन्धान नै नगरी प्रहरी, सरकारी वकिल महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता समेतले राजनीतिक शक्तिको दबाब र प्रभावमा मुद्दा नचलाउने भनी गरेको निर्णय गैरकानूनी त्रुटिपूर्ण भएको स्पष्ट देखिएको हुँदा उक्त निर्णयहरु उत्प्रेषणको आदेशले बदर गरी जाहेरी बमोजिमको अभियोग पत्र दर्ता गरी प्रत्यर्थीहरुका विरुद्धमा बहुविवाहको मुद्दा चलाउनू भनी जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंको नाममा परमादेशको आदेशसमेत जारी गरीपाउँ’, पीडितको माग छ ।

आफूसँग विवाह गरेर त्यसको तीन महिनापछि अर्की श्रीमती ल्याई राईले छलकपटगरी कागज बनाएर अलपत्र पारेको हिमालयको गुनासो छ ।

२०७९ असार २९ गते उच्च अदालतले जाहेरी दर्ता गर्न दिएको आदेशअनुसार भदौ १३ मा जाहेरी दर्ता भएको थियो । विवाहका पण्डित, लमी, आफन्त र कांग्रेसका जिल्ला अधिवेशमा उपस्थित भएकाहरूले समेत जाहेरी सत्य भएको कागज गर्दागर्दै प्रहरीले मुद्दा नचलाउने निर्णय भएको जानकारी गराएपछि पुन: अदालतको ढोका ढकढक्याएको हिमालयले बताइन् ।

मंसिर १ गते जिल्ला न्यायाधिवक्ता जनकप्रसाद घिमिरेले महेश राईले हिमालय महेशको श्रीमती भएको ‘वस्तुनिष्ठ’ प्रमाण नपुगेकोले महेश र मायामाथि बहुविवाहको कसूरमा मुद्दा नचल्ने उल्लेख छ ।

हिमालयले जाहेरीसाथ पेस गरेको फोटो तथा भिडिओबारे महेशले आफूलाई बिहेको नभई महासमिति सदस्य भएकोमा फेटा लगाएर सम्मान गरेको भनेको, मायाले मंसिर २ गते सिद्धकाली मन्दिरमा बिहानको ४ बजे बिहे गरेको पार्टी काम र श्रीमान् महेश बिरामी भई अस्पताल भर्ना भएकाले विवाह दर्ता गर्न केही ढिला भएको बयानलाई आधार मानेर सरकारी वकिल कार्यालयले उक्त निर्णय गरेको छ ।

हिमालयले आफूलाई राजनीतिक नेता, प्रहरी र प्रशासनले थप पीडा दिएको बताएकी छन् ।

१९,पुष.२०७९,मंगलवार ०९:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्