काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले व्यवसायीप्रति गर्ने सम्मानित व्यवहारले मात्र मुलुकभित्र लगानीमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्ने बताएका छन् ।
नेपाल निर्यात परिषद्को २५औं वार्षिक साधारणसभा तथा ७ औं निर्यात दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएक हुन ।
निजी क्षेत्रको लामो प्रयासपछि नेपाल सरकारले व्यवसायीहरूलाई सिआइपी सम्मान दिन सुरू गरेकोमा हाल स्थगित गरिएकोमा उनले दुःख व्यक्त गरे।
‘हाम्रो लामो र अथक प्रयास पछि नेपाल सरकारले व्यवसायीहरूलाई सिआइपी सम्मान दिन सुरू गरेको थियो। तर हाल त्यो पुनः स्थगित छ,’ उनले भने, जुन व्यवसायीले नेपालको निर्यात बढाउन सहयोग गर्छ, आयात प्रतिस्थापन गर्छ, विदेशी मुद्रा भित्र्याउँछ, धेरैभन्दा धेरै कर तिर्छ, रोजगारी सृजना गर्छ र व्यवसायीलाई सम्मान दिँदा सरकारको लगानी पनि पर्दैन यस्तो कुरामा सरकारले किन कन्जुस्याइँ गर्नुपर्ने ?’
आफू पनि निर्यात व्यवसायसँग आवद्ध रहेको र यस व्यवसायको समस्याको बारेमा आफूलाई पूर्ण जानकारी भएको बताउँदै उनले निर्यात प्रवर्द्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आफूले सदैव सकारात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पारे।
नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत्रमा हुने चुनावी साधारणसभातर्फ इन्गित गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघ र सरकारसँग निर्यात व्यवसायीहरूका विषयको पैरवी गर्न निर्यात व्यवसायीलाई नै प्रतिनिधिको रुपमा महासंघमा निर्वाचित गर्न सुझाव दिए।
प्रतिक्रिया दिनुहोस्