काठमाडौं । सवारी दुर्घटना न्युनीकरण अभियानका अभियान्ताहरुले सरकारलाई रोडसेफ्टी काउन्सिल गठन गर्न दबाब दिइरहेका छन् । नेपालमा बढ्दो सवारी दुर्घटना न्युनीकरणका लागि राज्यस्तरबाट प्रभावकारी काम हुन नसकेको उनीहरुको चिन्ता छ ।
नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालले आयोजना गरेकोे सडक सुरक्षासम्बन्धी अन्तरक्रियामा सहभागीले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रमका सहभागीहरुले नेपालमा रोडसेफ्टी काउन्सिलको गठन गर्ने कार्य राज्यको प्राथमिकतामा नपर्नु नै राज्य दुर्घटना न्युनीकरणप्रति सरकार संवेदनशील हुन नसकेको प्रमाण भएको तर्क गरेका थिए ।
नेपालका सरकारी, पेशागत, व्यवसायिक संघसंस्थाका प्रतिनिधि, सांसदहरु, अभियानकर्मीहरु तथा विज्ञहरुको सहभागिता रहेको कार्यक्रममा नासा फाउण्डेशनका डा. पुष्पराज पन्तले सडक सुरक्षाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिदृश्यमा स्वास्थ्यको अधिकार र सरकारी दायित्व विषयमा प्रस्तुतीकरण गरेका थिए । अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन एफआइएका गोविन्द भट्टराईले सुरक्षित सडक तथा दीगो यातायात (सेफ रोड एण्ड सस्टेनेबल ट्रान्सपोर्टेशन) मा पेशागत र नागरिक संलग्नता विषयक कार्यपत्र पेश गरेका थिए ।
नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओली, संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, नाडाका उपाध्यक्ष राजन श्रेष्ठ, प्रा.डा. बुलन्द थापा, राष्ट्रिय अपांग महासंघका देबु पराजुली, नेपाल इन्जिनियर्स एशोसिएशनका रविभूषण झा, विश्व स्वास्थ्य संगठनका तर्फबाट सुनील पोख्रेल, इन्टरमोडल ट्रान्सपोर्ट डेभलोप्मेन्ट बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेलले सडक दुर्घटना न्यूनीकरणका लागि संचालित कार्यक्रमहरु अपर्याप्त रहेको र समस्याको परिमाण अनुरुप त्यसको सम्बोधनका लागि सरकारी र नेशनल एलायन्स एवम् विज्ञहरुको साझा प्रयास जरुरी रहेको धारणा व्यक्त गरेका थिए ।
उनीहरुले अभियानलाई प्रदेशस्तरमा विस्तार गर्नसके सडकमा अकाल ज्यान जाने अवस्थाको न्युनीकरण गर्न सकिने सुझाव दिएका छन् ।
कार्यक्रमका अध्यक्ष तथा नेशनल एलायन्सका संयोजक योगेश भट्टराईले पेशागत, नागरिक समूह एवम् विज्ञहरुबाट आएका सुझावहरु संसद र सरकारको लागि मार्गदर्शन बन्ने भन्दै सबै सुझावलाई सम्बन्धित मन्त्रालय र सरकारी निकायमा पुर्याउने प्रतिवद्धता गरेका छन् । उनले अधिकारसम्पन्न राष्ट्रिय सडक सुरक्षा परिषदको स्थापनाको पहिलो खुट्किलो हुने विश्वास दिलाएका छन् ।
कार्यक्रममा पूर्वसांसद डा. दीपकप्रकाश भट्ट, संचारिका समूहका उर्वसी बस्न्यात, हिसानका उपाध्यक्ष रामहरी सिलवाल, नेपाल नेत्रज्योती संघका अध्यक्ष डा. चेतराज पन्त, काठमाडौं मेडिकल कलेजका प्राध्यापक डा. सुनीलकुमार जोशी, सामुदायक रेडियो प्रशारक संघका महासचिव किशोरजंग थापा, त्रिभुवन विश्वविद्यालयका जनसंख्या अध्ययन विभाग प्रमुख डा. योगेन्द्र गुरुङ र नासा फाउण्डेसनका संयोजक भगबती सेढाईंले विभिन्न सुझावहरु राखेका थिए ।
बैठकले प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको संयोजकत्वमा ३१ सदस्यीय नेशनल एलायन्स गठन गरेको छ भने सो एलायन्स अन्तरगत डा. रोहित कुमार पोखरे्रल, इ. रवीभूषण झा, उमेश ढकाल, ऋतु भट्ट, तारालाल श्रेष्ठ, दिनेश पाण्डे, रुजा पोखरेल र गोविन्द भट्टराई रहेको एक कार्य-समूह गठन गर्दै यसको सचिवालय नासा फाउण्डेसन नेपालले गर्ने निर्णय गरेको छ ।
बैठकले नेशनल एलायन्सको कार्यविधि, सदस्यता शुल्क, लक्ष्य तथा उद्देश्यहरु पारित गरेको छ भने बैठकले सडक सुरक्षा ऐनलाई यथाशीघ्र पारित गर्ने व्यवस्था गर्न तथा एक स्वायत्त र अधिकारसम्पन्न सडक सुरक्षा परिषद् (नेशनल रोड सेफ्टी काउन्सिल) को गठन गर्नुपर्ने, अटोल्याण्डको व्यवस्था, यात्रुबसको बडीको गुणस्तर निर्धारण गर्नुपर्ने, राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०२३-२०३० यथाशीघ्र जारी गर्नुपर्ने, बिगतमा संसदीय समितिले दिएका सडक सुरक्षा सम्वन्धी प्रतिवेदनहरुको अध्ययन र कार्यान्वयन गर्नुपर्नेजस्ता बिषयहरुसहित सरकारलाई सुझाव दिने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्