नेपालले आफ्नो फाइदाका लागि निर्णय लिएको हेर्न चाहन्छौं : अमेरिकी राजदूत

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले नेपाल आफ्नो फाइदाको लागि निर्णय लिएको अमेरिकाले हेर्न चाहेको बताएका छन् । पत्रकारहरूसँग बुधबार कुराकानी गर्दै राजदूत थम्प्सनले नेपालमा आफ्नो प्राथमिकताबारे पनि व्याख्या गरेका थिए ।

उनले नेपालसँगको द्वीपक्षीय सम्बन्धलाई जोड दिने, नेपाली जनस्तरमा सम्बन्ध विस्तार गर्ने र लोकतन्त्रको प्रवर्द्धनको विषय आफ्नो प्राथमिकता रहेको प्रष्ट पारे ।
राजदूत थम्प्सनले नेपालसँगको सम्बन्धमा बलियो आधार रहेको भन्दै द्वीपक्षीय सम्बन्धमा जोड दिँदै काम गर्ने बताए । ‘अमेरिका र नेपालबीच ७५ वर्षभन्दा लामो कूटनीतिक सम्बन्ध छ । यसमा दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुद पार्ने मेरो प्राथमिकता हुनेछ,’ उनले भने ।

उनले नेपालमा विकास सहायता र जनताको जीवनलाई उकास्नको लागि काम गर्ने गरिहेको बताए । राजदूत थम्प्सनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपालको उर्जा र सडक पूर्वाधार क्षेत्र विकासमा सहयोग गर्ने र यसको फाइदा नेपाली जनताले लिने बताए ।

‘नेपालकै चाहना अनुसार यहाँ एमसीसी परियोजना आएको हो । पछि केही समय ढिलाइ भए पनि (संसदबाट) अनुमोदन गरियो । यसले नेपालको पूर्वाधारका साथै १० हजार नेपाली जनतालाई रोजगारी पनि दिन्छ,’ उनले भने,‘अमेरिकाले एमसीसीबाट मात्र होइन, यूएसएआईडी मार्फत् पनि नेपाललाई ५ वर्षको लागि ६५० मिलियन अमेरिकी डलर सहयोग गरेको छ । साथै, अन्य सहकार्यको कार्यक्रम पनि छन् ।’ उनले यी सम्पूर्ण कार्यक्रमहरुले नेपालको स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तन, खाद्य सुरक्षा लगायत अन्य जनजीवनलाई उकास्ने क्षेत्रमा काम गर्ने बताए ।

राजदूत थम्प्सनले एमसीसी कार्यान्वयनको चरणमा रहेको पनि बताए । उनले सबस्टेसन निर्माणको लागि अहिले नुवाकोटको रातमाटे र सडक निर्माणको क्रममा दाङमा भइरहेका केही समस्याहरुप्रति आफू अवगत रहेको बताए । उनले अमेरिकामा ठूला परियोजना निर्माण गर्दा भन्ने भनाइको उदृत गर्दै भने,‘ठूला परियोजना भन्नुपर्छ, तर मेरो करेसाबारीमा चाहिँ होइन भन्ने छ । यहाँ पनि त्यस्तै लाग्नु स्वभाविक हो । तर एक पटक परियोजना बढेपछि सबैले फाइदा पाउँछन् ।’ उनले नेपालमा एमसीसी अनुमोदनको चरणमा भएका गलत र दुष्प्रचारमा सबैको हातभन्दा पनि केही तत्वले काम रहेको बताए । तर उनले ती तत्व को हो भन्नेबारे भने व्याख्या गरेनन् ।

राजदूत थम्प्सनले नेपालको नयाँ सरकारसँग अमेरिका काम गर्न इच्छुक रहेको बताए । उनले भविष्यमा दुई मुलुक बीचमा उच्चस्तरीय भ्रमणको लागि पनि आफूले पहल गर्ने प्रष्ट पारे । उनले दुई मुलुकका नेताहरु बीचमा कुटनीतिक प्रक्रियामा मात्र नभएर व्यक्तिगत रुपमा पनि सम्बन्ध हुनुपर्ने प्रष्ट पारे ।

राजदूत थम्प्सनले नेपालले स्टेट पार्टनरसीप कार्यक्रम (एसपीपी) मा सहभागिता जनाउने निर्णय नगरे पनि यसले दुई मुलुकबीचको सहकार्यमा कुनै पनि फरक नपर्ने बताए । उनले नेपालले आफैं उक्त कार्यक्रममा सहभागिता जनाउन चाहेको र पछि आफैंले सहभागिता नजनाउने भनेको बताए । उनले नेपालमा कुनै पनि अमेरिकी सेना नआउने प्रष्ट पारे । राजदूत थम्प्सनले नेपालको राजनीतिक प्रक्रियामा अमेरिकाको कुनै पनि संलग्नता नहुने बताएका थिए ।

यस्तै अमेरिकाले नेपालको विकास साझेदारको रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अमेरिकाले नेपाली सेनाको विपद् व्यवस्थापनको मानवीय सहायता क्षेत्र र नेपालले विश्व शान्तिमा योगदान दिँदै शान्ति सेनाका दौरान आवश्यक पर्ने क्षमता अभिवृद्धिको लागि सहयोग गर्ने पनि उनको भनाइ थियो । उनले अमेरिका र चीन बीचमा प्रतिस्पर्धा भए पनि सहकार्य गरेर काम गर्न सकिने बताएका थिए ।

२७,पुष.२०७९,बुधबार १६:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्