पोखरा जहाज दुर्घटनामा बिते डाक्टर गणेश थापा

रुपन्देही । तिलोत्तमाका डाक्टर गणेश थापा आइतबार काठमाडौंबाट पोखरा जाँदै थिए।

बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यति एयरलाइन्सको एटिआर ७२ जहाजबाट उडेका थापा पोखरा विमानस्थलमा ओर्लन नपाउँदै दुर्घटनामा परे।

३६ वर्षीय डाक्टर थापा तिलोत्तमा नगरपालिका वडा नम्बर ४ डिङगरनगरका बासिन्दा हुन्।

पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत डाक्टर थापाका बुवाआमा तिलोत्तमामा बस्दै आएका थिए। चिकित्सकसमेत रहेकी श्रीमती रोनी महर्जन र दुई वर्षीय छोरी भने काठमाडौंमा बस्थे।

बहिनी नाता पर्ने यशोदाका अनुसार श्रीमती रोनीले काठमाडौंमा एमडी अध्ययन गरिहेकी छन्। थापा बिदाको समयमा श्रीमती र छोरीलाई भेटेर आइतबार पोखरा फर्किँदै गरेको अवस्थामा दुर्घटनामा परेका थिए।

तिलोत्तमा-४ कै सिद्धार्थ बोर्डिङ स्कुलबाट एसएलसीसम्म अध्ययन गरेका थापाले बुटवलस्थित ग्लोरियस कलेजबाट प्लस टु अध्ययन गरेका थिए।

प्लस टु अध्ययनपछि चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबिबिएस अध्ययन गरेका थापाले अस्ट्रेलियाबाट एमपीएच अध्ययन गरेका थिए।

चीन र अष्ट्रेलियाबाट अध्ययन पूरा गरेपछि केही वर्ष मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा काम गरेका उनी पछिल्ला केही वर्ष यता ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत थिए।

थापा बुवा पदमबहादुर बुचा र आमा सूर्यकुमारी बुचाका एकमात्र छोरा थिए। उनीहरूकी एउटी छोरी पनि काठमाडौंमा बस्छिन्।

चिकित्सक बन्ने छोराको इच्छाअनुसार बुचा दम्पतीले दुखजिलो गरेर चिकित्सक पढाएका थिए। छोराछोरीलाई पढाउने र घर परिवार चलाउनकै लागि बुवा पदम रोजगारीको लागि जर्मनीसमेत गएका थिए।

छोरा चिकित्सक बनेपछि भने उनी वैदेशिक रोजगारीबाट फर्किएर घरमै बस्दै आएका थिए।

आइतबार चालकदलका चारजना सदस्य र ६८ जना यात्रु लिएर उडेको जहाज दुर्घटनामा परेर एकमात्र छोरा गणेशको मृत्यु भएको खबर सुनेपछि बुचा परिवारमा बज्रपात परेको छ।

‘दाइलाई बुवाआमाले धेरै दु:ख गरेर डाक्टर पढाउनुभएको थियो, दुर्घटनामा परेर परिवारकै एकमात्र छोरा गुमाउनुपर्दाको खबर बुवाआमाले पत्याउनै सक्नुभएको छैन,’ बहिनी यशोदाले भनिन्।

बुचा दम्पतीलाई छिमेकी जहरसिंह थापा लगायतको टोलीले आइतबार राती नै काठमाडौं लगेका छन्। छिमेकी थापाका अनुसार दुर्घटनाका मृतकहरुको शव पोखराबाट काठमाडौं लगेर परिवार र आफन्तलाई बुझाउने भएपछि उनिहरू काठमाडौं गएका हुन्।

काठमाडौंमा शव बुझेपछि दाहसंस्कारको लागि भने तिलोत्तमा ल्याउने तयारी रहेको आफन्तले बताएका छन्।

२,माघ.२०७९,सोमबार ११:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्