चलचित्र ‘ह्यारि कि प्यारी’ बलिउडको ‘विक्की डोनर’ सँग मेल खान्छ भन्ने हल्ला मात्र हो : निर्देशक रिजाल

Anjita Karki

हेटौँडा । नेपाल चलचित्र ‘ह्यारि कि प्यारी’का निर्देशक डाक्टर कपिल रिजालले चलचित्रको ट्रेलर रिलिज भएसँगै यो चलचित्र हिन्दी चलचित्र विक्की डोनरसँग मेल खान्छ कि भन्ने हल्ला गलत भएको बताएका छन् ।

माघ २० बाट प्रदर्शनमा आउन लागेको चलचित्रको मोफसल प्रमोसनमा हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै निर्देशक डाक्टर रिजालले करोडौँ रुपैयाँ लगानी गरेर कसैले पनि ‘कपि पेस्ट’ सिनेमा नबनाउने भन्दै वीर्य दान सम्बन्धी विषय ट्रेलरमा आएको कारण केहि मानिसहरूले यस्तो खाले अड्कलबाजी गरेको बताए ।

चलचित्र नेपाली मौलिकता, यहाँको संस्कृतिमा आधारित रहेको भन्दै उनले वर्षौँ लगाएर निर्माण गरिएको चलचित्र नेपाली समाजसँग सम्बन्धित रहेको दाबी गरे ।

उनले भने ‘वीर्य दान सम्बन्धी केहि प्लट हाम्रो चलचित्रमा पनि छ, तर कथा भने विल्कुल अन्य विषयमा रहेको छ, हामीले हाम्रो समाजको कथालाई मिठो ढंगबाट चलचित्रमा उतार्ने प्रयास गरेका छौँ, तसर्थ कपि गरेको हो कि भन्ने हल्ला मात्र हो, तपाईँहरूलाई पूर्ण मनोरञ्जन र केहि शिक्षा पनि यो चलचित्रले दिनेछ ।’

कार्यक्रममा बोल्दै चलचित्रका प्रमुख कलाकार जितु नेपालले चलचित्रमा कमेडीको साथमा पारिवारिक कथा रहेको बताए । समाजमा हुने गरेको घटनालाई निकै मसिनो ढंगबाट अध्ययन गरेर चलचित्र तयार भएको भन्दै उनले यो चलचित्रबाट आफ्नो परिचय समेत थप फराकिलो बन्ने विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा बोल्दै साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले अभिनय गरेको मध्ये निकै सुन्दर तथा यथार्थपरक चलचित्र बनेको बताइन् ।

समाजमा हुने घटना, बाध्यता र मायालाई चलचित्रले मार्मिक ढंगबाट उठान गरेको उनको भनाई छ ।

कलाकार विजय बरालले चलचित्र सामाजिक विषयवस्तुमा बनेको बताए । कमेडीसँगै समाजको एउटा महत्त्वपूर्ण विषयलाई चलचित्रले देखाउन खोजेको उनको भनाई रहेको थियो ।

गत पुस २४ गते ट्रेलर रिलिज गरेर प्रचारको लागि मोफसल यात्रामा निस्केको चितवन सहितका अन्य जिल्लामा प्रचारप्रसारको काम सकेको चलचित्र युनिटले जनाएको छ ।

३,माघ.२०७९,मंगलवार १०:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: