पल शाहलाई तनहुँ अदालतबाट सफाई, हुने छैनन् शाह जेलमुक्त

काठमाडौं । जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे ।

न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि फैसला सुनाएको हो । बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानुन व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए । एक १७ वर्षीया किशोरीले शाहविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् ।

तीनै किशोरीले लगाएको आरोपमा नवलपुर अदालतले शाहलाई साढे २ वर्ष कैद सजाय गरिसकेको छ । तनहुँ जिल्ला अदालतले सफाई दिए पनि शाह जेलमुक्त हुने छैनन् ।

पीडित भनिएकी नाबालिकाले बलात्कारको जाहेरी दिएपनि अदालतले लिएको बकपत्रमा भने आरोप झुटा भएको बताएकी थिइन् ।

ती बालिकाले शाहले तनहुँ र नवलपुरमा गरि दुई ठाउँमा बलात्कार गरेको बताएपछि बेग्लाबेग्लै अनुसन्धान भएर दुई फरक जिल्ला अदालतमा मुद्धा दायर भएको थियो । नवलपुर जिल्ला अदालतले जबर्जस्ती करणीको अभियोग आएपनि बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेर फैसला सुनाएको थियो।

शाह करिब एक वर्षयता थुनामा छन् ।

३,माघ.२०७९,मंगलवार १९:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्