काठमाडौँ । नेकपा एमालेको प्रस्तावमा सभामुखमा उम्मेदवारी दिएका देवराज घिमिरेले प्रतिनिधिसभालाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने बताएका छन् । उम्मेदवारी दिएपछि बुधबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सभामुखले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी हुन नदिने उल्लेख गरे ।
‘म जिम्मेवारीमा पुग्ने निश्चित छ । हिजोका शिक्षाबाट अघि बढ्छु । तटस्थ रहेर चलाउँछु‚’ उनले भने, ‘प्रतिनिधिसभाबाट विजय भएपछि सभामुखले खेल्ने भूमिका के हुन्छ‚ त्यो भूमिकामा कम रहन दिन्न ।’
घिमिरले बुधबार संसद् सचिवालयमा उनले प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।
झापा-२ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेका घिमिरे ०५६ मा राष्ट्रिय सभा सदस्य चुनिएका थिए । अहिले उनी एमालेको स्थायी कमिटी सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्