उपसभामुखमा सोबिता गौतम, डा. चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगर आकांक्षी

उपसभामुखमा सोबिता गौतमको देखिन्छ पल्लाभारी

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिबार हुँदैछ । शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यसूची छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका अनुसार सत्ता साझेदार दलहरुबीच प्रतिनिधिसभाको उपसभामुख रास्वपाले पाउने सहमति छ । ‘उपसभामुखको उम्मेदवार हाम्रो पार्टीले नै पाउने सहमति छ’, लामिछाने बिहीबार नयाँ वानेश्वरस्थित संसद भवन परिसरमा भने ।

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् । सभामुख र उपसभामुख फरक लिंगको हुनुपर्ने संवैधानिक बाध्यताका कारण अब उपसभामुखमा महिला नै हुनुपर्नेछ ।

उपसभामुखको उम्मेदवार चयन गर्न रास्वपाले शुक्रबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको छ । रास्वपाबाट उपसभामुखमा सोबिता गौतम, डा. चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगरलगायत सांसदहरु आकांक्षी देखिएका छन ।

‘प्रत्यक्ष निर्वाचित सांसदलाई प्राथमिकतामा राख्ने नीति छ । त्यस आधारमा मेरो नाममाथि छलफल चलेको छ’ उपसभामुखको आकांक्षी सांसद गौतम भन्छिन्, ‘तर, औपचारिक निर्णय संसदीय दलको बैठकले नै गर्नेछ ।’

नेताहरुका अनुसार प्रत्यक्ष निर्वाचित सांसदलाई प्राथमिकता दिँदा सोबता एक्ली उम्मेदवार हुन् । रास्वपामा प्रत्यक्ष निर्वाचित दुई महिलामध्यो डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भइसकेकी छन् ।

समानुपातिक पद्धतिबाट रास्वपामा डा. चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगर, निशा डाँगी, बिनीता कठायत र लक्ष्मी तिवारी निर्वाचित भएका छन् ।

५,माघ.२०७९,बिहीबार २२:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्