काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य बीमा मार्फत सबै जनताको उपचारलाई सुनिश्चित गरिने बताएका छन् ।
शनिवार मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गिरीले स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाहरूमा समस्याको रूपमा रहेको बताए । बीमा कार्यक्रम सञ्चालन गरेका अस्पतालहरूले कार्यक्रम सञ्चालन गर्न नसकिने बताउन थालेको भन्दै बिमा कार्यक्रम कार्यान्वयनका समस्या छिट्टै समाधान हुने स्वास्थ्य मन्त्री गिरीले बताए ।
बीमा कार्यक्रम सञ्चालनमा आइपरेका समस्याहरूको बारेमा जानकारी लिन आफूले सम्बन्धित निकायसँग छलफल गरी सकेको भन्दै समस्या समाधानको पहल छिट्टै गरिने गिरीको भनाई छ ।
गरिब जनताले स्वास्थ्य बीमा कार्यक्रम मार्फत धेरै सुविधा लिन सक्ने भएपनि कार्यक्रम कार्यान्वयनमा धेरै समस्या भएको गिरीको भनाई छ ।
रोटरी क्लबले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गर्दै मन्त्री गिरीले सबै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व रहेको उल्लेख गरे ।
मन्त्री गिरीले सोही अवसरमा मनमोहन सामुदायिक अस्पतालको अनुगमन समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्