प्रधानमन्त्रीको सचिवालयमा ७ जनाले पाए नियुक्ति, गोरखाका माओबादी प्रधानमन्त्रीसँग रुष्ट
वि.सं.२०७९ माघ ८ आइतवार २०:२५
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्वकीय सचिवालयमा ७ जनालाई नियुक्त गरेका छन ।
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरै नियुक्त भएका छन् । माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य समेत रहेका उनी दोस्रो संविधानसभामा सदस्य थिए । उनी तत्कालीन माओवादी सेनाको डिभिजन कमान्डर समेत भएर काम गरेका थिए ।
प्रधानमन्त्रीको स्वकीय सचिवमा भने रमेश मल्ल र गंगा दाहाल नियुक्त भएका छन्। उनीहरु यसअघि पनि खुमलटारमा प्रचण्डको स्वकीय सचिवका रुपमा कार्यरत काम गर्दै आएका थिए । मल्ल र दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन ।
त्यस्तै स्वकीय सहसचिवका रुपमा सूर्यकिरण शर्मा, मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेलले नियुक्ति पाएका छन्। शर्माले प्रेस संयोजकको जिम्मेवारी पाएका छन् । उनी यसअघि पनि प्रचण्डको प्रेस संयोजक थिए । उनी माओवादी केन्द्र निकट प्रेस सेन्टरका उपाध्यक्ष समेत हुन् ।
तिमिल्सिना भने प्रेस विज्ञको रुपमा नियुक्त भएका छन् । उनले यसअघि केही समय प्रचण्डको सचिवालयमा काम गरेका थिए ।
प्रचण्डको स्वकीय सचिवालयले पूर्णता पाउन अझै बाँकी छ । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत पदमा नियुक्ती गर्न बाँकी रहेको छ ।
प्रमुख सल्लाहकारमा प्रचण्डले यसअघि पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई प्रस्ताव गरेका थिए । तर, उनले पार्टीको जिम्मेवारी दिन आग्रह गरेका थिए ।
पदाधिकारी वा स्थायी समिति सदस्यहरुमध्यबाट एक जनालाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरिने चर्चा माओवादी वृत्तमा छ । त्यस्तै बाँकी अन्य पदहरुमा पनि विज्ञता हेरेर विस्तारै नियुक्ति गरिने बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड गोरखाबाट चुनाव जितेका सांसद हुन । उनको सचिवालयमा गोरखाबाट एक जना पनि नराखिएकोमा गोरखाका माओवादीहरुले रोष प्रकट गरेका छन ।




















