कर्जाको ब्याजदर नियन्त्रणका लागि सरकारले पहल गरिरहेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राखी ब्याजदर नियन्त्रणको पहल भइरहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार ललितपुरमा आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले ब्याजदर कुनै न कुनै रूपमा मुद्रास्फीतिसँग जोडिएको भन्दै कर्जाको ब्याजदर बढ्न नदिन पनि सरकारले पहल गर्ने बताए ।

उनले राष्ट्र बैंक स्वायत्त निकाय भएकाले अर्थ मन्त्रालयले हस्तक्षेप नगर्ने तर अहिले देखिएका समस्या समाधानका लागि आवश्यक छलफल गरेर अघि बढ्ने जिकिर गरे । त्यस्तै उनले करका विषयमा समस्या देखिएको गुनासो आएको भन्दै सरकारी सेवा प्रवाहमा कतै समस्या देखिए भए निजी क्षेत्रले त्यसको जानकारी दिन आग्रह गरे ।

अर्थमन्त्री पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने र यसका लागि कार्यविधि तयार पार्न पहल गर्ने बताए । लघु, घरेलु, साना तथा मझौला उद्योगका समस्या पहिचान गरी समाधानका लागि सरकारले पहल उनको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साना, घरेलु तथा मझौला उद्योगलाई विकास गर्न आवश्यक रहेको भन्दै सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे । सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्रको विकासका लागि बैङ्कहरूसँग सहकार्य गरिरहेको उनको भनाइ छ ।

त्यस्तै महासंघका अध्यक्ष शेखर गोल्छाले ब्याजदरमा स्थायित्व, सरल र सहज कर प्रणाली बनाउनका लागि राज्यले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे ।

९,माघ.२०७९,सोमबार १३:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्