काठमाडौं । गत सिजन विम्बल्डन जितेकी एलेना रिवाकिना वर्षको पहिलो ग्राण्डस्लाम टेनिस अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी छन् । मंगलबार भएको खेलमा उनले जेलेना ओस्टापेन्कोलाई सोझो सेटमा हराएकी हुन् ।
रिवाकिनाले ओस्टापेन्कोलाई ६–२ र ६–४ को सेटमा पराजित गरेकाी हुन् । रड लेभर एरिनामा लामो समायसम्म वर्षाले खेल विथोलिँदा काजाकस्तानकी रिवाकिनाले ओस्टापेन्कोलाई हराउन १ घण्टा १९ मिनेट लगाइन् ।
२२औं वरीयताकी रिवाकिनाले फाइनल प्रवेशका लागि तेस्रो वरीयताकी अमेरिकी जेसिका पेगुला र दुईपल्टकी च्याम्पियन भिक्टोरिया आजारेन्काबीच खेलको विजेतासँग खेल्नेछिन् ।
‘पहिलोपल्ट सेमिफाइनलमा पुग्न पाउँदा धेरै खुसी छु,’ महिलातर्फ बाँकी भएकामध्ये कान्छी खेलाडी रिवाकिनाले भनिन्, ‘वास्तवमै म डराइरहेकी थिएँ । योभन्दा अघिल्लो चरणको खेलमा झन धेरै डर लागेको थियो । तर, मैले आफ्ना भावनालाई व्यवस्थित गर्न सकेँ र आज राम्रो खेल्न सकेँ ।’
गत वर्ष विम्बल्डनमा अविश्वसनीय सफलतासँगै करिअरको प्रतिष्ठित उपाधि जिते पनि रिवाकिना २५औं वरीयतामा झरिन् । किनभने ग्रासकोर्टको सफलतालाई वरीयताअंक प्रदान गरिएको थिएन ।
प्रतिक्रिया दिनुहोस्