केवल व्यवसायी भेटेपछि कुलमानको प्रतिक्रिया, आइएसपी र टिभीको फरक बल्ल बुझेँ

काठमाडाैं । संघर्षरत केवल टेलिभिजन व्यवसायीहरुको मागलाई लिएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सकारात्मक देखिएका छन् । आज केवल व्यवसायीको एक प्रतिनिधिमण्डलसँग छलफलका क्रममा उनले सकारात्मक प्रतिक्रिया दिएका हुन् ।

प्रतिनिधिमण्डलले घिसिङलाई पोलभाडाको वृद्धिले आफूहरु मर्कामा परेको भन्दै ज्ञापनपत्र बुझाएको थियो । त्यसक्रममा उनीहरुले केवल व्यवसायीहरुले करिब २५ वर्षदेखि देशभर टेलिभिजन सेवाको विस्तारमा पुर्याइरहेको योगदानका विषयमा अवगत गराए ।

राष्ट्रिय टेलिभिजन मात्र नभएर एक सयभन्दा बढी संख्यामा स्थानीय टेलिभिजनहरुलाई घरघरमा पुर्याउने काम केवलबाट भइरहेको तर, सरकारले यो व्यवसायलाई इन्टरनेट व्यवसायीकै जस्तो व्यवहार गरेर अन्यायमा पारेको उनीहरुको गुनासो थियो ।

‘इन्टरनेट व्यवसायीहरुलाई अनियन्त्रितरुपमा लाइसेन्स बाँड्दा उनीहरुले बिजुलीका पोलमा तारमाथि तार हालेर उपभोक्ताबाट चर्को शुल्क असुलिरहेका छन् । तर, न्यूनतम शुल्कमा एउटा मात्रै तार राखेर केवल सेवा दिइरहेकाहरुलाई उनीहरुसँगै दाँजेर चर्को शुल्क लिनु अन्यायपूर्ण छ,’ नेपाल केवल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष धु्रव शर्माले भने । उनले इन्टरनेट व्यवसायी सरह केवल व्यवसायीले पोल भाडा तिर्न नसक्ने अवगत गराए ।

व्यवसायीको कुरा सुनेपछि कुलमान निकै गम्भीर बनेका थिए । उनले आइएसपी र केवल व्यवसायीको फरक आफूले बल्ल बुझेको प्रतिक्रिया दिए ।

‘इन्टरनेट व्यवसायीहरुले विद्युत प्राधिकरणका संरचना र पूर्वाधार प्रयोग गरेर करोडौं कमाइरहेको मैले बुझेको छु । तर, केवल व्यवसाय त्योभन्दा फरक हुन् भन्ने चाहीँ बल्ल बुझेँ । तपाईंहरुको माग सम्वोधनका विषयमा बोर्डमा छलफल गर्नेछु’, उनले भने ।

केवल व्यवसायीले २०७५ सालमा बढाइएको भाडादर तिर्न नसक्ने भन्दै त्योभन्दा अगाडिको दरमा सबै बक्यौता भाडा चुक्ता गर्न तयार रहेको बताएका छन् । यसमा पनि कुलमानले सकारात्मक प्रतिक्रिया दिएको महासंघ अध्यक्ष शर्माले जानकारी दिए ।

‘हाम्रा मागहरुलाई लिएर उहाँ निकै लचक देखिनुभएको छ । अब माग सम्बोधन हुनेमा आशावादी बनेका छौं,’ उनले भने ।
व्यवसायीले प्राधिकरणले जथाभाविरुपमा केवल टेलिभिजनका तारहरु काट्ने विद्युत आपूर्ति बन्द गर्ने गरेको विषयमा पनि गुनासो गरेका थिए ।

१०,माघ.२०७९,मंगलवार १६:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्