काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको घटनाले राज्य लज्जित भएको टिप्पणी गरेका छन् ।
नेता कोइरालाले बुधबार बिहान फेसबुकमा एक टिप्पणी गर्दै उनले युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारण खोजेर त्यस्तो परिस्थिति दोहोरिन दिनु नहुने बताएका छन् । ‘प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ,’ उनले लेखेका छन् ।
उनले अगाडि प्रश्न गरेका छन्, ‘हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको सिर्जना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने ?’
संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएपछि सामाजिक सञ्जालमा तीव्र असन्तुष्टि व्यक्त भइरहेको छ । आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्