काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ वैवाहिक जीवन सुरू गरेका छन् । सरिता शर्मा पोखरेलसँग बिहीबारदेखि खनालले नयाँ दाम्पत्य जीवन सुरू गरेका हुन् ।
२१ असोज, २०७६ मा खनालकी श्रीमती सचित्रा खानलको क्यान्सरका कारण निधन भएको थियो । त्यसपछि एकल जीवन बिताइरहेका खनाल र १९ वर्षदेखि नै एकल जीवन बिताइरहेकी शर्माले आफ्ना आफन्त र परिवारको प्रस्तावलाई स्वीकार्दै सहयात्रा गर्ने निर्णय गरेका हुन् ।
‘पारम्परिक रुपमा विवाह गरेका हैनौं, बाँकी जीवन साथै बिताउने निर्णय गरेका हौं,’ खनालले भने,‘परिवारको साथ र समर्थनमा हामीले सहयात्रा थालेका छौं ।’
खनाल र शर्मा दुवैका एक–एक छोरी छन् । शर्माको श्रीमानको पनि १९ वर्षअघि निधन भएको थियो । विवाहको ६ वर्षमै छोरी ५ वर्षको हुँदा पति वियोग सहेकी शर्माले एकल महिलाकै रुपमा छोरीलाई लालनपालन र शिक्षा दिक्षा दिएकी थिइन् ।
अर्थविज्ञका रुपमा समेत चिनिएका पूर्वसचिव खनाल र शर्माले दुवैतर्फको परिवारको उपस्थितिमा केक काटेर नयाँ यात्रा शुभारम्भ गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्