डराएको वा आत्तिएको बेला किन बढ्छ मुटुको चाल ?

काठमाडौ । काठमाडौ जब हामी कुनै कारणले अचानक आत्तिन्छौं वा डराउँछौं, तब मुटु छिटोछिटो ढुकढुक गर्छ । मुटु नै बाहिर आउला कि जस्तो हामीलाई लाग्छ ।

डराएको, आत्तिएको र दौडिएको बेला मुटुको चाल बढ्छ । किनकि यस्तो बेला शरीरले थप पोषण माग्छ । जसलाई चिकित्सकीय भाषामा नर्मल फेनोमेना (सामान्य स्थिति) भनिन्छ ।

मुटुको काम रगतको पम्प गर्ने भएकाले यो शरीरको मागअनुसार चल्छ । शरीरको माग धेरै हुँदा मुटुको चाल बढी हुन्छ भने माग कम हुँदा चालक पनि कम हुन्छ । यो सामान्य अवस्था हो, कुनै रोगको लक्षण होइन । यसबाहेक ज्वरो आउँदा, निरन्तर शारीरिक व्यायाम, दौडजस्ता क्रियाकलाप गर्दा पनि मुटुको चाल बढ्छ ।

मानिस भावनाकै कारणले डराउने, आत्तिने र तर्सिने गरेको बेलामा मुटुमा प्रभाव परिरहेको हुन्छ । जब मानिस डराउँछ वा आत्तिन्छ तब शरीरमा विशेष किसिमको हार्मोन निस्किन्छ । जसलाई क्याटाकोलामाइन भनिन्छ । यो निस्कँदा मुटु जोडले धड्किने र चाल पनि बढी हुन्छ । त्यतिबेला व्यक्ति तनाव महसुस गरिरहेको हुन्छ र त्यो तनावलाई शान्त गराई पुनः सामान्य गर्ने काम पनि सोही हार्मोनले गर्छ । कोही व्यक्ति कुनै कुरा वा घटना देखेर डराएर काम्ने गर्छन् भने त्यो बेलामा पनि हार्मोनले नै प्रभाव पारिरहेको हुन्छ ।

मुटुको चाल बढेकै कारण कुनै उपचार गर्ने भन्ने हुँदैन । तर अत्यधिक आत्तिने र बढी मानसिक तनाव लिइरहेमा भने पछि मुटुको समस्या आउन सक्छ । जसले मुटुको नसाहरु साँघुरिने सम्भावना हुँदा हृदयघात समेत हुन सक्छ ।

चिकित्सकले पनि मुटुको चाल बढेको उपचार गर्नुभन्दा पनि मुटुमा चाल के कारणले बढ्यो भनेर निर्क्योल गरेर उपचार गर्छन् ।

मुटुरोगले चाल अस्वाभाविक बढ्न सक्छ

कतिपयमा मुटुरोग लागेकै कारण मुटुको चाल बढ्ने गर्छ । सामान्य रुपमामुटु चल्नका लाग िमुटुमा करेन्ट बहनुपर्छ । उक्त करेन्ट निकाल्ने मुटुमा एउटा मार्ग हुन्छ, जसलाई साइनस नोड भनिन्छ ।

साइनस नोडले एक खालको करेन्ट निकाल्छ । यसरी निस्किएको करेन्ट जाने एक निश्चित तार हुन्छ, जसको माध्यमबाट करेन्ट मुटुका सबै कोठाभित्र पुग्छ । तर कतिपयमा भने करेन्ट बग्नुपर्ने ठाउँ नै अर्को भइदिने वा निस्केको अन्य करेन्ट बग्ने अनावश्यक तार हुन सक्छन् । त्यो अवस्थामा भने आवश्यकताभन्दा बढी मुटु धड्किन्छ । यो परिस्थितिमा भने कुनै पनि क्रियाकलाप नगर्दा स्थिर भएर बस्दा पनि एक्कासी मुटुको चाल बढ्ने हुन्छ । जसलाई ट्याकीकार्डिया भनिन्छ ।

ट्याकीकार्डिया मुटुरोगमध्ये एक हो । यो रोगबाट ग्रसित व्यक्तिमा अचानक चाल बढ्ने सम्भावना हुन्छ । त्यो समयमा गाह्रो हुने, रिंगटा लाग्ने, छाती दुख्ने, श्वास फेर्न कठिन हुने र बेहोस हुनेसमेत लक्षण देखिन सक्छ । सो रोग बच्चादेखि वृद्धसम्म जुनसुकै उमेरमा पनि देखिन सक्छ । हृदयघात भएका व्यक्तिमा यसको जोखिम अरु बढी हुन्छ ।

मुटुको चाल

मुटुको चाल ६० देखि १०० छ भने सामान्य मानिन्छ । यद्यपि राति सुतेको अवस्थामा शरीरको माग कम हुने भएकाले ६० भन्दा कम ५० मा पनि झर्ने गर्छ, त्यो पनि अस्वाभाविक हुँदैन ।

मुटुको चाल आवश्यकताभन्दा बढी र कम हुँदा असामान्य स्वास्थ्य अवस्था भनेर बुझ्नुपर्छ । यी दुवै अवस्थामा व्यक्तिलाई हिंड्ने क्रममा वा बसेको समयमा चक्कर लाग्ने, टाउको दुख्ने, ढुकढुक हुने, श्वास फेर्न कठिन हुने लक्षण देखिन्छ ।

मुटुको चाल घटबढ हुनुमा विभिन्न कारण हुन सक्छन् । जन्मजात मुटुरोग, केहीमा उमेर बढेसँगै मुटुको बनावटमा परिवर्तन आउँछ । जसकारण मुटुमा करेन्ट निकाल्ने अन्य अनावश्यक ठाउँ पैदा हुने वा बाटो फरक हुन सक्छ । त्यस्तै, मुटुमा संक्रमण र हृदयघातपछि पनि मुटुको चालमा घटबढ हुन सक्छ । हृदयघात भएका व्यक्तिमा मुटुको चाल घटबढ भएमा मृत्युसमेत हुने जोखिमं हुन्छ । त्यो अवस्थामा मुटुको चाल २०० सम्म पुग्न सक्छ ।

उपचार

मुटुको चाल घटबढसम्बन्धी सबैखाले उपचार नेपालमा सम्भव छ । चाल घटबढ हुँदा यसको उपचारबाट नियन्त्रणमा ल्याउन सकिन्छ । मुटुको चाल आवश्यकताभन्दा कम भएको अवस्थामा औषधिले ठीक हुन्छ भन्ने हुँदैन । यसको लागि पेसमेकर ब्याट्री लगाएर उपचार प्रक्रिया अघि बढाउन सकिन्छ । उक्त ब्याट्रीले मुटुको चाल कम भएको थाहा पाउछ र नियन्त्रण गर्ने काम गर्छ ।

त्यस्तै, मुटुको चाल आवश्यकताभन्दा बढी भएको खण्डमा उपचारको लागि औषधि पनि चलाइन्छ । अर्को माध्यम भनेको छाती नचिरी र बेहोस नबनाई पनि गर्न सम्भव छ । खुट्टाबाट तार पसाएर मुटुमा पु¥याएर चाल बढी भएको कारण पत्ता लगाएर अन्यन्त्र तार बग्ने बाटो भए निष्क्रिय बनाउने र चाल बढाउने तन्तु भेटिएमा नष्ट गरिन्छ ।

मुटुको चाल स्वस्थ बनाउन मुटुलाई स्वस्थ राख्नुपर्छ । त्यसका लागि मुटुलाई असर गर्ने जोखिम न्यूनीकरण गर्दा स्वतः चाल नियन्त्रण र नियमित हुन्छ । स्वस्थ जीवनशैली, दीर्घरोग नियन्त्रण, शारीरिक व्यायाम र तनाव व्यवस्थापन गर्ने प्रयत्न गर्नुपर्छ ।

१६,माघ.२०७९,सोमबार १०:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्