स्वार्थ बाझिने भन्दै गृह मन्त्रालयको अडान छाड्न रविलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्रालय लिँदा स्वार्थ बाझिने र बाहिर जवाफ दिन पनि अप्ठेरो हुने भन्दै अर्को मन्त्रालय लिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा लामिछानेले साँझसम्म यसअघि सरकार बनाउने बेला भएको समझदारी अनुसार गृह मन्त्रालय रास्वपालाई दिन र शपथग्रहण गराउन भनेपछि प्रधानमन्त्रीले त्यसमा आनाकानी गरेका हुन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार रविलाई गृह मन्त्रालय नदिन माओवादीभित्र दबाब छ । सरकारको नेतृत्व गरिरहेको पार्टीले महत्त्वपूर्ण मन्त्रालय नलिएको भन्दै प्रचण्डमाथि माओवादीभित्रबाटै गृह नछाड्न दबाब बढेको छ ।

रविको राहदानी सम्बन्धी विवाद कायम रहेको र गृह मन्त्रालय लिँदा स्वार्थ बाझिने तर्क प्रधानमन्त्रीबाट आएको छ । रविले भने गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको बताइन्छ । यद्यपि यसबारे पुष्टि गर्न खोज्दा उनी सम्पर्कमा आएका छैनन् ।

एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले पनि नागरिकताको पुनः प्राप्ति प्रक्रिया पूरा गरेपछि उनलाई गृहमन्त्री बनाउन आग्रह गरिसकेका छन् । ६ महिनाभित्र उपचुनावबाट रवि पुनः सांसद हुने तयारीमा छन् । उनलाई एमालेले सघाउने संकेत दिइसकेको छ ।

प्रचण्डको रिजर्भ फोर्सका रूपमा कांग्रेसले सत्ता साझेदारीका लागि पर्खेर बसिरहेका कारण प्रधानमन्त्रीले सकेसम्म गृह मन्त्रालय रविलाई नदिने प्रयासमा छन् ।

१७,माघ.२०७९,मंगलवार १२:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्