पोखरा महानगरले पुरानो ट्राफिक भवनमा चलायो डोजर

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वी चोकमा रहेको पुरानो ट्राफिक कार्यालयको भवनमा डोजर चलाएको छ । महानगरको कार्यपालिकाको बैठकको निर्णयअनुसार पृथ्वी चोकको पुरानो ट्राफिक कार्यालयको भवनमा मङ्गलवार डोजर चलाइएको पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मरासिनीले बताए ।

ट्राफिक कार्यालय सरेपनि त्यहाँ रहेको संरचना हटाउन महानगरपालिकाले डोजर चलाएको हो । पोखराको सुन्दरतालाई मध्यनजर गर्दै जीर्ण अवस्थामा रहेको पुरानो ट्राफिक कार्यालय (गोलघर) भत्काउन थालिएको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मरासिनीले बताए ।

उक्त ठाउँमा ‘पोखरा घर’ बनाउने योजनाका साथ भवन भत्काउन सुरु गरेको वडाध्यक्ष मरासिनीको भनाइ छ । ‘२ वर्षभित्र बनाइसक्ने योजनासहित अगाडि बढेको महानगरले त्यहाँ रहेको पुरानो ट्राफिक कार्यालयको भवन भत्काउन कम्तीमा १५ दिन लाग्नेछ । हाल पोखरा घरका लागि डीपीआर निर्माणको काम भइरहेको छ,’ उनले भने ।

पोखरा घर बनाउनका लागि चालु आर्थिक वर्षमा महानगरले २ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । ‘पोखरा घर’को भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र त्यसमाथि घण्टाघर बनाउने महानगरको योजना रहेको वडाध्यक्ष मरासिनीले बताए ।

‘यहाँ दुई वर्षभित्रै पोखरा चिनाउने पोखरा घर बनाउने योजनामा छौँ । यो पर्यटकका लागि पोखरा चिनाउने सूचना केन्द्र पनि हो,’ वडाध्यक्ष मरासिनीले भने ।

१७,माघ.२०७९,मंगलवार १३:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्