काठमाडौं । फरक क्षमता भएका मानिसहरु कालो नम्बर प्लेट (भाडा)को गाडीमा सिंहदरबार जान पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयको पहलमा गृह मन्त्रालयले यो निर्णय गरेको हो ।
गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सबैले भाडाका गाडी लिएर जान दिने होइन । अपाङ्ग र फरक क्षमता भएकाहरुलाई मात्र सिंहदरबार प्रवेशमा सहज बनाइएको हो ।
यो निर्णयसँगै अपांगता भएकाहरु ट्याक्सी लिएर सिंहदरबारभित्र नै जान पाउने भएका छन् । यसअघि भाडाका गाडी सिंहदरबारभित्र लैजान पाउने व्यवस्था थिएन । त्यसैले आफू सवारी साधन नचलाउने अपांगता भएकाहरुले हिँडेरै वा अरु कसैसँग लिफ्ट मागेर सिंहदरबार जानुपर्ने बाध्यता थियो ।
गृह मन्त्रालयका प्रवक्ता पोखरेलका अनुसार फरक क्षमता भएकाहरु सिंहदरबारको प्रवेशद्वारमा पुगेपछि आफ्नो काम भएको मन्त्रालय बताउनुपर्छ । त्यहाँ रहेका सुरक्षाकर्मीहरुले सम्बन्धित मन्त्रालयमा बुझ्छ र, मन्त्रालयले खबर गरेपछि सुरक्षाकर्मीहरुले प्रवेश दिन्छ ।
प्रतिक्रिया दिनुहोस्