राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति कांग्रेसमा मात्रै छ : ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दावी गरेका छन् ।

नेता कार्कीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्वीकार्य बनाउन काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको तर्कसमेत गरे । सुनसरीस्थित हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा राष्ट्रिय सहमती हुन्छ भनेर बालहठ देखाएको जिकीर गर्दै त्यसले मुलुकलाई अघि बढाउन नसक्ने बताए ।

उनले भने, ‘राष्ट्रपति मैले खडा गरेको व्यक्तिलाई मात्रै भोट दियो भने राष्ट्रिय सहमती हुन्छ भन्नु त्यो बालहठ हो । र, त्यो बालहठले मुलुक अगाडि बढन सक्दैन । र, यो सम्मानित संस्थाको नेतृत्व सर्वस्वीकार्य व्यक्तिले गर्नु पर्नेछ । त्यो व्यक्तित्व नेपाली काँग्रेस भित्रनै छ भन्ने कुरा पनि म यहाँहरुलाई निवेदन गर्न चाहन्छु। ’

कांग्रेस नेता कार्कीले सत्ताका लागि आफ्नो पार्टीले मरिहत्ते गर्नुपर्ने अवस्था नरहेको बताए । कांग्रेसले सत्ता खोजेर नहिँडने तर त्यो आफैं आउने उनको बुझाइ थियो ।

उनले भने, ‘ म यहाँबाट भन्न चाहन्छु–नेपाली काँग्रेस पार्टी नेपालको राजनीतिको केन्द्रविन्दुमा छ । नेपाली काँग्रेस पार्टीले सत्ता खोजेर हिँडनु पर्दैन । नेपाली काँग्रेस पार्टीको अगाडि सत्ता आउनु पर्दछ, आउँछ ।’

२०,माघ.२०७९,शुक्रबार १५:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्