काठमाडौ । काठमाडौ नेपाल चिकित्सक संघले देशैभरका अस्तालमा आकस्मिक सेवाबाहेक अन्य सम्पूर्ण सेवा आजका लागि बन्द गरेको छ।
संघका आजीवन सदस्यसमेत रहेका राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायतमाथि प्रहरीले माघ २७ गते लाठीचार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध गर्दै संघले आइतबार देशैभरका अस्पताल र स्वास्थ्य संस्थाका सेवा बन्द गरेको छ।
भीभीआइपीको सुरक्षाका नाममा प्रहरीले स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकलाई आक्रमण गरी गम्भीर घाइते बनाइनु र स्वास्थ्य सेवा लिन आइरहेका हजारौं बिरामीलाईसमेत अस्पताल पुग्न नदिएर अलपत्र पार्ने अवस्था सिर्जना गरिएकोप्रति नेपाल चिकित्सक संघले विज्ञप्ति निकालेर विरोध गरेको छ।
‘आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरिएको छ,’ संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
चिकित्सक संघले विधि र विधान स्थापित गर्न उठाएको यो कदमलाई साथ र समर्थन गर्न संघले देशैभरका नागरिकहरूलाई आग्रहसमेत गरेको छ।
भीभीआइपी सवारीका नाममा नागरिकलाई सास्ती दिने, अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने र घणटौं जाम गरेर दैनिक जीवनयापनमा अत्यन्तै असहज परिस्थिति सिर्जना गर्नु न्यायोचित नहुने नेपाल चिकित्सक संघको भनाइ छ।
राष्ट्रपतिको सवारीका बेला हिँडेको आरोपमा चिकित्सक सिंहमाथि कुटपिट गर्ने वरिष्ठ हवल्दार शम्भुजंग गुरूङलाई प्रहरीले निलम्बनसमेत गरिसकेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवल्दार गुरूङलाई निलम्बन गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोशराज पोखरेलले जानकारी दिए। ‘अहिले उहाँलाई निलम्बन गरिएको छ’, उनले भने, ‘थप अनुसन्धानका लागि प्रक्रिया अघि बढेको छ।’
चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरेर अनुसन्धान सुरू गरिसकिएको भन्दै चिकित्सकहरूलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई नियमित स्वास्थ्य सेवामा फर्किनसमेत केहीले आग्रह गरेका छन्।
अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन रास्वपाको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ।
महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले शनिबार एक विज्ञप्ति जारी गरी चिकित्सकमाथि प्रहरीद्वारा भएको लाठीचार्जको घटनाप्रति दुःख व्यक्त गर्दै चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका हुन्।
‘राष्ट्रपतिको सवारीको समयमा सर्वसाधारणको आवागमनलाई नियन्त्रण गर्ने नाममा आफ्नो काम सकेर घर फर्कने क्रममा एक कर्तव्यनिष्ट नागरिकलाई आवागमनमा रोक मात्र नलगाइ भौतिक कारबाहीसमेत हुनु अमानवीय घटना हो’, प्रवक्ता डा ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
रास्वपाले राष्ट्रपति तथा अन्य उच्च पदस्थ व्यक्तित्वहरूप्रति जनआस्था र विश्वासलाई कायम राख्न सुरक्षा र सवारीका नाममा दैनिक जीवनयापनमा असहज अवस्था सिर्जना गर्न नहुने बताएको छ।
अस्पताल बन्द गर्ने कार्यले नागरिकलाई थप दुःख हुने भएकाले अस्पताल बन्द गर्ने कार्यक्रम फिर्ता लिन रास्वपाले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्