ललितपुरको ग्वार्कोमा फ्लाइओभर कालोपत्रे उप्काएर शनिवारबाट निर्माणको काम सुरु

काठमाडौं । ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माणको काम सुरु भएको छ । कालोपत्रे उप्काएर शनिवारबाट निर्माण सुरु गरिएको हो ।

‘फ्लाइओभर’को कुल लम्बाइ ४५५ मिटर हुनेछ भने यसको ‘ग्राउन्ड क्लियरेन्स’ ६ मिटर हुनेछ। सो ‘फ्लाइओभर’को उचाइ ५.५ मिटरको हुनेछ। ओभरपासमा सवारीसाधन चढ्नका लागि दायाँतर्फ १८० मिटर र बायाँ ११० मिटरको याम्प निर्माण गरिनेछ।

‘फ्लाइओभर’ निर्माणसँगै सो क्षेत्रमा हुन सक्ने ट्राफिक जाम व्यवस्थापनका लागि समेत सुरु गरिएको छ।

निर्माणको काम नसकिएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चार पाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिने भएको छ।

त्यसै गरी कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई ग्वार्को चोकभन्दा छ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने र बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चार पाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिने बताइएको छ ।

२९,माघ.२०७९,आईतवार ०९:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्