प्रधानमन्त्री सुदूरपश्चिम जानुअघि सरोकारवालासँग गरे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम जानुअघि त्यहाँका सरोकारवालासँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुदूरपश्चिम क्षेत्रका पूर्व तथा बहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिवसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रूपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताए ।

फागुन १ गतेदेखि विकास आयोजनाहरुको अनुगमन र निरिक्षणका लागि आफ्नो कार्यकालको पहिलो भ्रमणमा जाने तयारी गरेका छन् ।

छलफलका क्रममा प्रचण्डले विकास आयोजनाहरुको अनुगमन गर्ने क्रममा पहिलो भ्रमण सुदूरपश्चिमबाटै गर्न लागेको बताए ।

उनले भने, ‘मेरो पहिलो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालयको घोषणा समेत गरेको थिएँ । गेटा मेडिकल कलेजलाई समेत राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा विकास गर्ने कुरा मेरा लागि गौरवको विषय हो ।’

यस सम्बन्धी थप घोषणा प्रधानमन्त्री प्रचण्डले भोलि सुदूरपश्चिमको कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्ने तयारी गरेका छन् ।

२९,माघ.२०७९,आईतवार १३:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्