बसको ठक्करबाट वृद्ध मृत्युको कारण वीरेन्द्रनगर तनावग्रस्त, पत्रकारलाई हाने बोतल

सुर्खेत । आइतबार वीरेन्द्रनगरमा बसको ठक्करबाट मृत्यु भएकी महिलाका आफन्तद्वारा जारी आन्दोलन चर्किएपछि वीरेन्द्रनगरको अवस्था अहिले तनावग्रस्त बन्र्दै गएको छ । आन्दालेनकारीले विभिन्न चोकमा टायर बालिरहेका छन् भने यातायातका साधन चल्न दिएका छैनन ।

आइतबार दिउँसो जाजरकोटकी नदी रावतको बसको ठक्करबाट मृत्यु भएको थियो । उक्त घटनालाई लिएर आफन्तले क्षतिपूर्तिको माग गर्दै सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन्।

आन्दोलनका क्रममा एक जना पत्रकार समेत घाइते भएका छन्। मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको झडपमा स्थानीय पत्रकार बलबहादुर थापा घाइते भएका हुन् । बसपार्क समितिका युवाहरुले उनको टाउकोमा काँचको बोतलले हानेका थिए।

पत्रकार थापाले आन्दोलनको भिडियो खिचिरहेका थिए भने प्रहरी र आन्दालेनकारीले भिडियो नखिच्न आग्रह गरेका थिए। तर उनले भिडियो खिचिरहेपछि प्रहरीकै अगाडि युवाहरुले उनीमाथि आक्रमण गरेका हुन् ।

उनलाई आक्रमण गर्ने युवाको परिचय भने खुलेको छैन। पत्रकार थापाको उपचार स्थानीय माया नर्सिङ होममा भइरहेको छ । उनको टाउकोमा पाँचवटा टाँका लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीका अनुसार आन्दोलनलाई साम्य पार्नका लागि २३० जना प्रहरीलाई तैनाथ गरिएको छ।

१,फाल्गुन.२०७९,सोमबार १३:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्