कर्णाली प्रदेशका मन्त्रिहरूले गरेनन् सम्पत्ति विवरण सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेशका मन्त्रिहरूले नियुक्तिको २ महिना पुग्न लाग्दासम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको वेबसाइटमा हालसम्म कसैको सम्पत्ति विवरण राखिएको छैन । मुख्यमन्त्रीले आफ्नो सम्पत्ति विवरण कार्यालयमा दर्ता गराइसकिएको दाबी गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पदमा बसेको ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण मुख्यमन्त्री कार्यालयमा बुझाउनुपर्ने’ उल्लेख छ ।

तर, सम्पत्ति विवरण गोप्य राख्नेमा ६ मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

गत पुस २८ गते मुख्यमन्त्री राजकुमार शर्माले शपथ लिएका थिए । आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल, सामाजिक विकास मन्त्री टेकराज पछाई, भूमि व्यवस्था, कृषि तथा शहकारी मन्त्री भीमप्रकास शर्मा र भाौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री उर्मिला विश्वकर्माले समेत सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

यस्तै, मुख्यमन्त्रीसँगै पद तथा गोपनीयताको शपथ लिएका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोतमन्त्री मंगलबहादुर शाहीले पनि सम्पत्ति विवरण सार्जजनिक गरेका छैनन् ।

कानूनीरूपमा सम्पत्ति विवरणमा व्यक्तिगत गोपनीयतासम्बन्धी कानून लागू हुने भएपनि तर, मन्त्रिपरिषद्ले कार्यव्यवस्था नियमावलीमार्फत् नै प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था गरेको छ ।

मुख्यमन्त्री कार्यालयका सचिव प्रेम आचार्य मुख्यमन्त्रीबाहेक अन्य मन्त्री तथा राज्यमन्त्रीले हालसम्म सम्पत्ति विवण नबुझाएको बताउँछन् ।

उनले भने, ‘मुख्यमन्त्रीज्यूले कार्यालयमा विवरण बुझाउनुभएको छ । तर, अन्य मन्त्रीज्यूहरूले अहिलेसम्म विवरण पठाउनुभएको छैन । विवरण बुझाउने समय पनि बाँकी भएका कारण हामीले ताकेता गरिरहेका छौँ । सायद अबको केही दिनमा बुझाउनुहुन्छ होला ।’

१९,फाल्गुन.२०७९,शुक्रबार १३:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्