सुदूरपश्चिम प्रदेशसभा बैठक आज, विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

त्यसअघि मुख्यमन्त्री शाहले दलीय सहमति जुटाउने प्रयास जारी राखेका छन् । आवश्यक परेमा आजै सर्वदलीय बैठकसमेत बस्न सक्ने मुख्यमन्त्रीका स्वकीय सचिव धिरेन्द्र शाहीले जानकारी दिए । ‘विश्वासको मतका लागि दलहरुसँग विभिन्न ढंगले छलफल चलिरहेको छ, आवश्यक परेमा आजै सबै दलको औपचारिक बैठकसमेत बस्नसक्छ,’ स्वकीय सचिव शाहीले भने ।

नेकपा माओवादी केन्द्रले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन् ।

शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नएभको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो । त्यसको जानकारी मुख्यमन्त्री शाहलाई माओवादी संसदीय दलका नेता खगराज भट्टले शनिबारै गराइसकेका छन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि दलीय सहमतिको लिखित हस्ताक्षर विना विश्वासको मत नदिने अडान लिएको छ । नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले शनिबार सामाजिक सन्जालमा लेखेकी छन्, ‘दलीय सहमतीको लिखित हस्ताक्षरविना विश्वासको मत दिन सकिँदैन ।’

सुदूरपश्चिम प्रदेश सभा सचिव देवबहादुर बोगटीका अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत जुटाउन नसकेपछि पदमुक्त भएका थिए । त्यसपछि सुदूरपश्चिम प्रदेश सभाको ठूलो दलको हैसियतमा कांग्रेसका शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए । शाहले पनि मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

२१,फाल्गुन.२०७९,आईतवार ०७:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्