जसपाको उपराष्ट्रपति हुन्छ भने मधेश प्रदेशमा जनमतको मुख्यमन्त्री हुनैपर्छ: अब्दुल खान, खानेपानी मन्त्री

राष्ट्रपति चुनावलाई जनमत पार्टीले कसरी लिएको छ ?

— राष्ट्रपति र उपराष्ट्रपति चुनावमा जनमत पार्टीको खासै चाँसो छैन । हामी सुरुदेखि नै राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपतिको साझा उम्मेद्वार हुनुपर्छ भन्दै आएका छौं । अहिले समीकरण बदलिएपछि आठ दलीय गठबन्धनको हामी एक घटकको हिसावले रामचन्द्र पौडेलको प्रस्तावको रुपमा आफै पनि बसेको छु । त्यो हिसावले यो गठबन्धनका उम्मेद्वारलाई जसरी पनि हामी सहयोग गर्ने र विजयी गराउने हाम्रो लक्ष्य रहेको छ । वर्तमान राष्ट्रपतिको क्रियाकलापलाई हामी गम्भीर रुपमा लिएका छौं । भावी राष्ट्रपति पार्टीभन्दा पनि देशहितमा केन्द्रित भई काम गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।

० आठ दलीय गठबन्धनका उम्मेद्वार राष्ट्रपतिमा निर्वाचित हुनुहुन्छ ?

— निश्चितरुपमा आठ दलीय गठबन्धनका उम्मेद्वार राष्ट्रपतिमा निर्वाचित हुनुहुन्छ ।

० तर, एमालेका नेताहरुले आफ्नो उम्मेद्वार विजयी हुने दाबी गर्दैछन् नि ?

— एमालेसँग बहुमत नै छैन । आठ दलीय गठबन्धनले एक प्रकारको धारणा बनाइसकेको छ । देश र लोकतन्त्रलाई बचाउनुपर्ने अहिलेको आवश्यकता रहेको छ । आठ दलीय गठबन्धनभित्र रहेका सबै दलहरु लोकतन्त्र, गणतन्त्रलाई मान्ने दलहरु छन् ।

० आठ दलीय गठबन्धनबाट क्रस भोटिङ्ग हुने सम्भावना छैन ?

— खासगरी हामीबाट क्रस भोटिङ्ग हुँदैन । अन्य दलहरु के गर्छन्, त्यो उहाँहरुको कुरा हो ।

० मधेश प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको सुनिन्छ, के हो वास्तविकता ?

— यो त एक हिसावले सहमति भएकै कुरा हो । केन्द्रमा समीकरण फेरिएपछि स्वाभाविकरुपमा प्रदेशहरुको पनि समीकरण फेरिन्छ । यस्तो अवस्थामा हाम्रो पनि केही शर्तहरु छन् । किनभने जहिले पनि अन्य दललाई भोट मात्र दिइराख्ने, हामी केही नपाउने त हुँदैन नि ।

० तपाइँहरुको शर्त के–के छन् ?

— अहिले बनेको आठ दलीय गठबन्धनमा संघमा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाली कांग्रेसले पालैपालो सरकारको नेतृत्व गर्ने, उपराष्ट्रपति जसपाले लिने लगायतका जुन कुराहरु भएका छन् । यसमा हाम्रो पनि केही कुराहरु रहेका छन् । राष्ट्रिय पार्टी नरहेको दल केही दिन प्रधानमन्त्री लिने, जसपाले उपराष्ट्रपति लिने भएपछि हामी पनि केही न केही दाबी गर्छौ । जसपाको उपराष्ट्रपति हुन्छ भने मधेश प्रदेशमा  जनमतको मुख्यमन्त्री हुनैपर्छ ।

० जनमतले आधा कार्यकाल मुख्यमन्त्री पाउने कुरा छ त ?

— आधा कार्यकाल किन ? मधेश प्रदेशमा हामीलाई पूरै कार्यकाल मुख्यमन्त्री चाहियो नि त । कि त उपराष्ट्रपति आधा कार्यकाल गर्नुप¥यो । अर्को कुरा यदि एकीकृत समाजवादीले केही दिनका लागि प्रधानमन्त्री लिन्छ भने हामीलाई पनि एउटा अझै मन्त्रीसहित उपप्रधानमन्त्री दिनैपर्छ । यो हाम्रो शर्त हो । यो शर्त मैले समितिको बैठकमा राखिसकेको छु । जब मन्त्रिमण्डलले पूर्णता पाउँछ, त्यतिखेर जोडदाररुपमा हामी यो माग राख्छौं ।

० यदि जनमतलाई उपप्रधानमन्त्री दियो भने डा.सीके राउत जानुहुन्छ ?

— डा.सीके राउतजी पनि आउन सक्नुहुन्छ । यसमा के छ र ।

० तपाइँ खानेपानी मन्त्रालय सम्हालेदेखि गर्नुभएको कामप्रति सन्तुष्ट हुनुहुन्छ ?

— म मन्त्रालयमा आइसकेपछि जेजति काम गरेको छु, त्यसप्रति म सन्तुष्ट नै छु । मन्त्रालय आइसकेपछि काम गर्ने मेरो नैतिक जिम्मेवारी पनि हो । हामीले जुन विभाग सम्हालिसकेपछि काम गर्नैपर्छ । मैले धेरै गर्न पाएको छैन । किनभने यसका विभिन्न कारक तत्वहरु छन् । यो मन्त्रालयभित्र गर्नुपर्ने धेरै कामहरु छन् । म यदि यो मन्त्रालयमा बसिरहे भने उदाहरणीया कार्यहरु गरेर देखाउँछु ।

० अहिलेसम्म के–के कामहरु गर्नुभयो त ?

— म यो मन्त्रालय सम्हालेको लगभग ३५–३६ दिन मात्रै भएको छ । मैले मन्त्रालय सम्हाले लगतै मेरो पहिलो घोषणा थियो कि सिंहदरबारभित्र मेलम्ची र केयुकेएलको प्रयोग गर्नुपर्छ । यी पानी पनि खानेयोग्य र उपयुक्त हो, हामी बोतलको पानीमा मात्रै भर पर्नु हुँदैन । मेलम्चीको पानी बोतलको भन्दा पनि राम्रो छ भन्ने देखाउन र जनतामा विश्वास दिलाउन मैले पहिले घोषणा गरेको हुँ । यो काम लगभग अन्तिम चरणमा छ । खानेपानीको समस्या व्याप्त छ । यसका लागि जनगुनासो सुन्ने कोही थिएन । त्यसका लागि हामीले गुनासो सेन्टर खोलेका छौं । आएका जनगुनासोलाई सकभर हामी समाधान गरिरहेका छौं । यस्तै, मेलम्चीमै एंग्री र लार्के खोलाको कुरा अगाडि बढाइसकेका छौं । केही दिनमै त्यसको टेण्डर हुन्छ । यदि त्यो काम पूरा हुन्छ भने काठमाडौं उपत्यकामा कहिल्यै पनि खानेपानीको हाहाकार हुँदैन । सिस्नेरी खोलाबाट पनि हामी पानी ल्याउन सक्छौं । त्यो काम पनि अघि बढिसकेको छ । त्यो सँगसँगै रिङरोडभन्दा बाहिरका जनताका निम्ति पाइप बिछाउने कामको टेण्डर भइसकेको छ । त्यसको अलावा पनि तराई–मधेशको गाउँ–गाउँमा खानेपानी परीक्षण गर्ने भ्यान पठाइसकेका छौं । त्यसको प्रतिवेदन आइसकेपछि डिप बोरिङमार्फत् घर–घरमा शुद्ध खानेपानी पु¥याउँछौं । त्यस्तै, पहाड र हिमालमा पनि खानेपानीको सहज पूर्तिका लागि काम गरिरहेका छौं । त्यस्तै, ठाउँ–ठाउँमा सार्वजनिक सौचालय बनाउने योजनामा छौं । केही ठाउँहरुमा हामीले निःशुल्क धारा पनि वितरण सुरु गरिसकेका छौं । यस्ता थुप्रै कामहरु मैले छोटो समयमा सुरु गरिसकेको छु ।

० तपाइँले सिंहदरबारमा बोतलको पानी बन्द गर्ने, मेलम्चीकै पानी प्रयोग गर्नुपर्ने जुन निर्णय गर्नुभएको थियो, त्यो कहिलेसम्म लागू हुन्छ ?

— त्यो काम अन्तिम चरणमा छ । पानीको परीक्षण पनि भइसकेको छ र त्यसको प्रतिवेदन पनि आइसकेको छ । सिंहदरबारभित्र खानेपानीको धाराहरु पनि लगाइसकिएको छ । केही काम मात्र बाँकी छ । सिंहदरबारमा पब्लिक धारा जडान गरिसकेपछि प्रधानमन्त्रीलाई पानी खुवाएर उद्घाटन गर्ने योजनामा छौं ।

० खानेपानी मन्त्रालयमा तपाइँ बाध्यतावश आउनुभएको हो ?

— हाहाहा… (लामो हाँसो) । म बाध्यताले होइन, अब त मलाई गर्व लागिरहेको छ कि यो मन्त्रालयमा आउन पाएँ । किनभने पानी नै जीवन हो, यो सबैलाई नभई नहुने कुरा हो । पानीसँग जनताको प्रत्यक्ष सरोकार हुन्छ ।

० तपाइँलाई यो कुराको महसुस पछि भएको हो ?

— सही कुरा हो, यो कुराको मलाई पछि अनुभव भयो । अहिले पानीको समस्या हुने बितिकै हामीलाई फोन आइहाल्छ । धारा छ, हावा आउँछ, पानी आउँदैन जस्ता प्रतिक्रियाहरु आइरहन्छन् ।

० यो मन्त्रालयबाट गर्न सकिने तपाइँको ड्रिम प्रोजेक्ट के हो त ?

— यो मन्त्रालयमा म यदि एक–डेढ वर्षसम्म पनि बस्न पाएँ भने काठमाडौंभित्र पानीको अभाव हुने समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्छु । यस्तै, तराई–मधेशको पानीमा आर्सेनिकयुक्त लगायतका जुन समस्याहरु छन्, त्यसलाई समाधान गर्न कम्तीमा दुई वर्ष चाहिन्छ । पहाडको भीरपाखामा पानी पु¥याउनका लागि विभिन्न योजनाहरु छन् । यसको अवाला हाम्रो देशको पानी अन्तर्राष्ट्रिायस्तरमा निर्यात गर्नका लागि कमसेकम पाँच वर्षको समय चाहिन्छ । यदि म पाँचै वर्ष यो मन्त्रालयमा काम गर्ने समय मिल्यो भने यी कामहरु पूरा गरेरै छाड्छु ।यो अन्तरवार्ता मधेशवाणी साप्ताहिकबाट साभार गरेका हौं ।

२५,फाल्गुन.२०७९,बिहीबार १३:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्