जिल्ला अदालतले पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौ । काठमाडौ जिल्ला अदालतले पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

सोमबार विदेशी नागरिकलाई ठगेर अवैध रकम नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको केन्द्रीय अनुसन्‍धान ब्युरोका प्रवक्ता एवं एसपी संजयसिंह थापाले जानकारी दिए।

एक जनालाई भने इजलासले ५० हजार धरौटीमा छाड्न आदेश दिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यस मुद्दामा २० जनालाई प्रतिवादी बनाएको थियो। तीमध्ये ७ जनामात्रै पक्राउ परेका थिए। १३ जना अझै फरार छन्।

उनीहरूमाथि चार वटा मुद्दा चलाउन पर्ने सुझावसहित फागुन १७ गते सिआइबीले सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

पृथ्वीबहादुर शाह, उनका भाइ विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रूकमांगत काफ्ले, रंगबहादुर साउदलाई थुनामा पठाउन आदेश भएको हो। बिनिता तामाङलाई भने अदालतले ५० हजार माग गरेको हो।

विदेशी नागरिकलाई ठगेर अवैध रूपमा नेपालमा पैसा भित्र्याएको आरोपमा उनीहरूमाथि छ।

उनीहरूमाथि ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधविरूद्धको मुद्दा चलाउनुपर्ने सुझाव सिआइबीको थियो। त्यसअनुसार कार्यालयले गत मंगलबार मुद्दा दायर गरेको थियो।

अमेरिकी नागरिक ठगिएको भन्दै अमेरिकी राजदूतावासले सिआइबीलाई जानकारी गराएको थियो। केही पीडितहरू बेलायती र क्यानडियन नागरिक समेत छन्। पीडितहरू प्राय: वृद्धवृद्धा, अल्जाइमर, क्यान्सरका बिरामी छन्।

ठगी गरेर उनले सम्पत्ति, घर-जग्गा, शेयर, सुन, कम्पनी लगायतमा कारोबार गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको एसपी थापाले बताए।

यस घटनामा २४ जनाले जाहेरी दिएका छन‍्। ५६ जना पीडित छन्। जाहेरी दिएका २४ जनाबाट २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी गरेको देखिन्छ।

उनीहरूलाई क्षतिपूर्ति, सात वर्ष कैद र ७० हजार जरिवाना माग गरेको हो। सरकारी ऐन अनुसार भने थप सजाय हुनसक्ने कानूनी व्‍यवस्था रहेको छ।

प्रहरीको अनुसन्धानबाट उनीहरूको समूहले ३८ करोड ८६ लाख ६२ हजार १३६ रुपैयाँ आर्जन गरेको देखिन्छ। जसमध्ये बैंकमा रहेको एक करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ पनि रोक्का गरिएको सिआइबीले जनाएको छ।

उनले ठगी गर्नकै लागि नेपालमा २४ वटा कम्पनी खोलेका थिए।

कम्पनीहरूको उद्देश्यविपरीत विदेशी लगानी अवैध रूपमा भित्र्याउने गरेको पाइएको हो। ठगी गर्न शाहको समूहले एन्टी भाइरसको अपडेट, एमेजोनको बिल भुक्तानी, गिक स्क्वाड, क्विक बुक्स समेतको बहानाले इमेलमार्फत् विदेशीसँग सम्पर्क स्थापित गर्ने प्रहरीको अनुसन्धानबाट देखिन्छ।

सम्पर्क स्थापित भएपछि पीडितको मोबाइल वा कम्प्युटरमार्फत् बैंक खातामा पहुँच पुर्‍याउँथे। त्यसपछि खातामा रहेको रकम नेपाल र थाइल्यान्डमा समेत पठाउने गरेको अनुसन्धानबाट खुलेको थियो।

पीडितको खाताबाट रकम झिकिसकेपछि पीडितकै डिभाइसबाट आफूखुसी डिभाइसमार्फत् इमेल पठाएर ठगी गरेको खुलेको हो।

३०,फाल्गुन.२०७९,मंगलवार १३:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्