मानुषी चिल्लर र वरुण तेज अभिनित बलिउड फिल्म ‘भिटी १३’ को छायांकन नेपालमा

काठमाडौं । मिस इन्डिया मानुसी चिल्लर र वरुण तेजको मुख्य भूमिका रहेको बलिउड चलचित्र ‘भिटी १३’ को छायांकन नेपालमा गरिएको छ । सोनी पिक्चर्स इन्टरनेशनल र रेनेसा पिक्चर्सको ब्यानरमा निर्माण भएको उक्त चलचित्रलाई शक्तिप्रताप हाडाले निर्देशन गरेका हुन् ।

सत्य घटनामा आधारित रहेर निर्माण गरिएको सो चलचित्रमा नेपालका विभिन्न ठाउँहरुको दृश्य समावेश रहने निर्माण पक्षले जनाएको छ । चलचित्र सम्बद्ध स्रोतका अनुसार हिमाल र उपत्यकाको इमर्स शटहरू लिन सटओभर एफ १६ एक्सिस ग्यारो सस्ट्याबलाइज्ड सिस्टमको क्यामरा प्रयोग गरिएको छ । यो क्यामरा नेपालमा पहिलोपटक प्रयोग भएको हो ।

‘भिटी १३’ फाइटर जेटमा आधारित एक्सन चलचित्र हो । सटओभरलाई भारतका अनुभवी सिनेम्याटोग्राफर सैकत चक्रवर्तीले ह्याण्डल गरेका थिए । उनले यसअघि हलिउडका फास्ट एण्ड फ्युरियस, टप गन म्याभरिकलगायतका चलचित्रहरुमा काम गरिसकेका छन् ।

चलचित्रमा भिज्युअल एफेक्ट सुपरभाइजर दुर्गाप्रसाद केठा रहेका छन् । उनले यसअघि रुद्रमादेवी, बाहुबली, पुली, साहो, राधेश्यामलगायतका चलचित्रहरुमा काम गरेका छन् । चलचित्रमा नेपालका हिमालका दृश्यहरुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको जनाइएको छ ।

यस चलचित्रका लाइन प्रोड्युसर फुर्वा शेर्पा हुन् । उनले सीएनएन, नेसनल जियोग्राफी, एबीसीलगायतका अन्तर्राष्ट्रिय परियोजनाहरुका लागि काम गरिसकेका छन् ।

नेपाली चलचित्रको विदेशमा छायांकन गर्ने होड चलिरहँदा विदेशी र त्यसमा पनि बलिउड फिल्म मेकरहरुको लागि भने नेपाल चलचित्र छायांकनका लागि उत्कृष्ट गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ ।

चलचित्रमात्र नभएर हाल नेपालमा विभिन्न विश्व प्रसिद्ध ब्राण्डहरुको टेलिभिजन एडहरु पनि छायांकन हुँदै आएका छन् ।
नेपालको प्राकृतिक सुन्दरता तथा सांस्कृतिक सम्पदाहरुका कारण विदेशी फिल्म मेकरहरुको नेपालप्रतिको आकर्षण बढ्दै गएको अनुमान गर्न सकिन्छ ।

सञ्चार मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, बाग्लुङ, पोखरा, नाम्चे, लुक्ला, नगरकोटलगायतका क्षेत्रमा विदेशी फिल्ममेकरहरुको आकर्षण बढ्दो छ । बेबी, उचाइ, बराका, बट्ला हाउस आदि यसका ज्वलन्त उदाहरण हुन् ।

२,चैत्र.२०७९,बिहीबार १५:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्