रातको समयमा जथाभावी सडकमा माटो खसाल्नेलाई ललितपुर महानगरको कारबाही

काठमाडौ । काठमाडौ विभिन्न घर तथा भवन निर्माणको क्रममा खनिएको माटो सडकमा खसालेर नगर प्रदूषित बनाएको भन्दै ललितपुर महानगरपालिकाले निर्माण कम्पनीलाई कारबाही गरेको छ।

महानगरपालिका यसअघि नै सडकमा माटो नखसाल्न, खसालेको भए तत्काल उठाउने व्यहोराको सूचना सार्वजनिक गरिसकेको थियो।

उक्त सूचनालाई अवज्ञा गर्दै गएराति सडकमा जथाभावी माटो खसालिएको पाइएपछि कानुनअनुसार कारबाही गरेको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिए।

निर्माण कम्पनीले रातिको समयमा माटो बाहिर पठाउने गरेको र त्यहाँबाट निस्कने ट्रकले माटो खसाल्दा सडकमा धुलो-हिलो बढेको र नगर नै प्रदूषित भएको मेयर महर्जनले बताए।

महानगरले निर्माण कम्पनीलाई सडकमा माटो नखसाल्न र निर्माण सामग्री नथुपार्न पटक पटक सूचीत गर्दै आएको समेत उनले जानकारी दिए। ‘सुरुमा सचेत गराउँछौँ, अटेर गर्नेलाई कानुनअनुसारको कारबाही गर्छौं,’ उनले भने,‘हिजो राति नर्भिक अस्पतालको भवन बनाउने रोशन कन्टछ्रक्सनले ललितपुरका विभिन्न ठाउँमा राती माटो र फोहोर फालेकाले कारबाहीको दायरामा ल्याएका हौ।’

रातीको समयमा ललितपुरको पुल्चोक, जावलाखेल, मानभवन, सातदोबाटोका सडकमा अन्य सवारीलाई असर गर्ने गरी माटो खसालिएको थियो।

सिसि क्यामेराको सहयोगमा माटो फाल्ने ट्रकलाई पहिचान गरी कारबाही गरिएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए। ‘हामीले राती-राती सडकमा माटो फाल्नेलाई सिसीटिभीको माध्यमबाट पहिचान गरेका हौ’, उनले भने,‘यसरी सडकमा जो कोहीले पनि माटो या अन्य कुनै फोहोर फालेमा कारबाही गर्नेछौ।’

महानगरले नगरलाई स्वच्छ र हराभरा बनाउने अभियान तिब्र पारेको भन्दै कुनै पनि निर्माण सामाग्री सडक किनारमा नराख्न र भवन निर्माण स्थलबाट उठाएको माटो राम्रोसँग छोपेर सडकमा नखस्नेगरी निर्धारित ठाउँमा पुर्‍याउनसमेत अनुरोध गरेको छ।

महानगरपालिकाभित्रका विभिन्न स्थानको दैनिक महानगरले सडकको धुलो पखाल्ने गरेको जानकारी दिँदै मेयर महर्जनले यो क्रम निरन्तर रहने बताए।

सडकको धुलो बढार्न महानगरपालिकाले ब्रुमरको प्रयोग गर्दै आएको छ।

३,चैत्र.२०७९,शुक्रबार ०८:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्