बैंकर्समाथि बढ्दो आक्रमण : एनआईसी एशिया म्याग्दीका कर्मचारी कुटिए

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि गरिएको सांघातिक आक्रमणप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले आपत्ति जनाएको छ । बिहीबार मात्रै एनआईसी एशिया म्याग्दी शाखाका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आले कुटिएको भन्दै सिविफिनले विरोध जनाएको हो ।

सिविफिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चैत २ गते याग्दी जिल्लाको एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि नियोजितरूपमा गरिएको सांघातिक आक्रमणप्रति सिविफिन घोर भर्त्सना गर्दछ ।’

यस्तै जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुर्व्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतीको श्रृंखला ज्यान लिने स्थितिसम्म पुगेको भन्दै घटनामा संलग्न दोषीहरूलाई हदैसम्मको कारबाही गर्न समेत सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष माग गरिएको छ ।

आन्तरिक तथा बाह्य कारणबाट देशको अर्थतन्त्र नै अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थालाई समेत मनन गरी बैंकिङ सेवालाई निर्वाधरुपमा संचालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन परिसंघले आग्रह गरेको छ ।

केही दिनअघि मात्र गृहमन्त्रालयले देशभरका सीडीओलाई बैंकिङ क्षेत्रका कर्मचारीलाई सुरक्षाको प्रत्याभूति दिन निर्देशन दिएको थियो ।

३,चैत्र.२०७९,शुक्रबार १२:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्