चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को हप्ता रुस भ्रमणमा जाने

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को हप्ता रुस भ्रमणमा जाने भएका छन् ।

चीनको विदेश मन्त्रालयले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सी अर्को साता रुसको भ्रमण गर्ने घोषणा गरेको हो ।

एक वर्षअघि सुरु भएको रुस–युक्रेन युद्धपछि सीको यो पहिलो मस्को भ्रमण हुन लागेको हो । चिनियाँ विदेशमन्त्रालयका अनुसार भ्रमणका क्रममा सी र पुटिनले दुई देशबीचको ‘रणनीतिक सहयोग’ का विषयमा छलफल गर्ने भएका छन् ।

मस्कोबाट क्रेमलिन र बेइजिङबाट चिनियाँ विदेश मन्त्रालयले शुक्रबार एकसाथ जारी गरेको विज्ञप्ति जारी गरेका छन् ।

‘वार्ताका क्रममा रुस र चीनबीचको वृहत्त साझेदारी सम्बन्ध र रणनीतिक सहयोगको थप विकास गर्ने विषयमा छलफल हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा रुस–चीन सहयोगलाई बलियो बनाउने सन्दर्भमा विचारको आदानप्रदान गर्ने र धेरै महत्त्वपूर्ण द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर हुनेछ ।’

चीनले युक्रेन युद्धको विषयमा आफूलाई तटस्थ शान्तिको पक्षमा प्रस्तुत गर्ने प्रयास गर्दा यो भ्रमण हुन लागेको हो । मस्कोसँग बेइजिङको बढ्दो हिमचिमलाई लिएर पश्चिमी शक्तिराष्ट्रहरू सशंकीत भएका छन् ।

३,चैत्र.२०७९,शुक्रबार १४:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्