दोस्रो पटक प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिदा ९३ संसदले विपक्षमा मतदान गर्ने संकेत

पहिला ९९.२५ प्रतिशत मत पाएका थिएँ, भोलि सय नै हुन्छ भन्ने आशा छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । पुस १० गते पुरानो गठबन्धन परिवर्तन गरेर प्रधानमन्त्री भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि दोस्रो पटक विश्वासको मत लिँदैछन् । यसअघि पुस २६ गते विश्वासको मत लिँदा उनले संसदमा उपस्थित २७० मध्ये २६८ जना सांसदको विश्वासको मत पाएका थिए ।

दुई महिनामै सत्ता समीकरण फेरिँदा एमाले र राप्रपा सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताअनुसार प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लागेका छन ।

एमाले नेतृत्वको सात दलीय गठबन्धन भत्काएर चुनावअघिकै पुरानो गठबन्धन ब्युँताएका प्रचण्डलाई दश दलीय गठबन्धनको साथ छ । गठबन्धनमा माओवादीसहित कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले विश्वासको मत दिने पक्का भएको छ ।

तर, सरकारबाट बाहिरिएपछि अझै समर्थन कायम राखेको प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपाको प्रतिनिधिसभामा १९ जना सांसद छन् । रास्वपा मौका पाए सरकारमा फर्किन तयार देखिएको छ ।

कांग्रेस, रास्वपा र नेकपा एसले आजै बैठक बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेका छन् । प्रचण्ड नेतृत्वको सरकारले संविधानको रक्षा, समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेको पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए ।

कांग्रेस, नेकपा एससहित गठबन्धनमा सामेल अन्य साना दलले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निश्चित छ । अहिले एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेमकिपामात्रै प्रधानमन्त्रीको विपक्षमा उभिने देखिएको छ ।

तर, प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट सय प्रतिशत सांसदहरुको विश्वासको मत पाउने विश्वास रहेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘पहिला ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको थिएँ । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’

एमालेको ७८, राप्रपाको १४ र नेमकिपाको १ गरि जम्मा ९३ जना सांसदले विश्वासको मत नदिने निश्चित छ ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसको ८७, माओवादीको ३२, रास्वपाको १९, जसपाको १२, नेकपा एसको १०, जनमतको ६, लोसपाको ४, नाउपाको ४, राजमो र आम जनता पार्टीका एक/एक गरि करिव १७६ जना सांसदको विश्वासको मत पाउनेछन् । यीबाहेक केही स्वतन्त्र सांसदको पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्भावना देखिएको छ ।

५,चैत्र.२०७९,आईतवार २१:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्