कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा आक्रमणको प्रयास

ओखलढुंगा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा सोमबार आक्रमणको प्रयास भएको छ।

विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका मुख्यमन्त्री कार्कीमाथि प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलन गरिरहेका आन्दोलनकारीले आक्रमण प्रयास गरेका हुन्।

स्थानीयबासीका अनुसार सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्जाङमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले अवरोध गरेका थिए।

सिद्धिचरण नगरको वडा नम्बर १ तिर कडा सुरक्षासहितको गाडीमा जाँदै गरेका बेला आन्दोलनकारीले रोकेका थिए। त्यसक्रममा उनीहरुले मुख्यमन्त्री चढेको गाडीमा आक्रमण प्रयास गरेका थिए। तर प्रहरीले उनीहरुको प्रयास विफल बनाएको थियो।

कालोझन्डासहित उपस्थित आन्दोलनकारीले मुख्यमन्त्रीको गाडीमा लगाइएको राष्ट्रिय झन्डा थुतेका थिए। आन्दोलनकारीले अवरोधको प्रयास गरेका हुन्’, ओखलढुंगाका एक प्रहरी अधिकारीले भने, ‘त्यस्तो केही हुन पाएन।’

फागुन १७ मा प्रदेशको नाम कोशी राखिएपछि लिम्बूवान, खम्बुवान, किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङसहितका संगठनहरु संयुक्त संघर्षमा छन्।

उनीहरुले आइतबार प्रदेश राजधानी विराटनगरमा प्रदर्शन गर्दा तनावसमेत भएको थियो। मुख्यमन्त्री कार्कीले प्रदेशको नामबारे अब कुनै छलफलसमेत नहुने बताएका छन्। उनको अभिव्यक्तिप्रति आन्दोलनकारीले आपत्ति जनाउँदै आएका छन्।

६,चैत्र.२०७९,सोमबार १५:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्