बढुवा भएकै दिन श्यामलाल ज्ञवाली अख्तियारको निगरानीमा, नागरिकता छानबिन गर्न गृहमन्त्रालयलाई निर्देशन

काठमाडौं । बढुवा भएकै दिन नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

सरकारले सोमबारमात्र ज्ञवालीसहित ५ जनालाई एआईजीमा बढुवा गरेको थियो । उनी कोशी प्रदेशको प्रमुखको रूपमा कार्यरत् छन् ।

उमेर ढाँटेर जागिर खाएको प्रमाणसहित उजुरीपछि अख्तियारले कारबाही प्रक्रियाका लागि चासो देखाएको हो ।

कैलालीका शेरबहादुर चन्दले ज्ञवालीविरुद्ध गत फागुनको दोस्रो साता अख्तियारमा उजुरी गरेका थिए ।

अख्तियारले प्रहरीका उच्च अधिकारीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण मागेर अध्ययन गर्ने क्रममा केही शंकास्पद डीआईजीको शैक्षिक प्रमाण पत्र र नागरिकता विवरण मागेकोमा ज्ञवालीमाथि थप छानबिन आवश्यक परेपछि विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउन सोमबार साँझ गृहमा निर्देशन आएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार गृहलाई प्रतिवेदन बुझाउन एक महिनाको समय सीमा तोकिएको छ ।

ज्ञवालीले २५ वर्ष १० दिनमा इन्सपेक्टरमा भर्ना भएको देखिएको अख्तियारको छानबिनमा देखिएको छ । तर, प्रहरी नियमावलीअनुसार इन्सपेक्टरमा भर्ना हुन २० वर्ष पूरा भएर २५ वर्ष ननाघेको हुनुपर्छ । २०५० वैशाख १ गतेको विज्ञापनअनुसार इन्सपेक्टरमा भर्ना भएका ज्ञवालीको नागरिकताअनुसार १० दिन बढी नाघेको पाइएपछि गृहलाई छानबिन गर्न भनिएको हो ।

यसअघि उमेर ढाँटेर सेवा प्रवेश गरेका डीआईजी अशोक सिंहले फागुन १० मा राजीनामा दिएका थिए ।

नागरिकतामा ज्ञवालीको जन्ममिति २०२४ चैत २१ रहेकोकोमा सिटरोल र शैक्षिक योग्यतामा भने २०२५ भदौ २६ रहेको बताइएको छ । उनको जन्ममिति ५ महिना ५ दिन फरक रहेको स्रोतले बताएको छ ।

७,चैत्र.२०७९,मंगलवार १२:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्